एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न सकिने, राष्ट्र बैंकले दियो बैंकहरूलाई निर्देशन

-



     सफल आवाज    
     भाद्र २९ गते २०८३ मा प्रकाशित



काठमाडौं, २९ भदाै। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना एटिएम (ATM) मेसिनहरूबाट १०० रुपैयाँ दरका नोट पनि निकाल्न मिल्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई औपचारिक पत्र लेख्दै यस्तो निर्देशन दिएको हो।

यस निर्देशनसँगै अब सर्वसाधारणले एटिएमबाट साविकको १ हजार र ५०० रुपैयाँका साथै १०० रुपैयाँ दरका नोटहरू पनि निकाल्न पाउने भएका छन्।

चाडबाडको भीड व्यवस्थापन र सर्वसाधारणको सुविधाका लागि कदम

सर्वसाधारण ग्राहकहरूबाट एटिएममार्फत १०० रुपैयाँ दरका नोट उपलब्ध गराउन निरन्तर माग भइरहेको र नजिकिँदै गरेका महान् चाडबाडका समयमा साना दरका नोट साट्न बैंकहरूमा अत्यधिक भीड लाग्ने भएकाले राष्ट्र बैंकले यो व्यवस्था लागू गर्न भनेको हो।

राष्ट्र बैंकद्वारा पठाइएको पत्रमा भनिएको छ, “चाडपर्वका अवसरमा बैंक तथा वित्तीय संस्थामा साना दरका नोट साट्ने ग्राहकको भीड उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले सर्वसाधारणको सुविधा र भीड व्यवस्थापनका लागि एटिएमबाटै १०० रुपैयाँका नोट निकाल्न सक्ने व्यवस्था मिलाउनु।”

प्राविधिक रूपमा सम्भव

राष्ट्र बैंकले केही बैंकहरूसँग पूर्वजानकारी लिँदा प्राविधिक रूपमा एटिएमबाट १०० रुपैयाँका नोट वितरण गर्न सकिने प्रतिक्रिया पाएपछि यो कदम चालेको जनाएको छ।

मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालद्वारा हस्ताक्षरित सो पत्रको बोधार्थ डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था संघलाई समेत पठाइएको छ।