माछापुच्छ्रे बैंककाे साधारण सभा असोज २८ मा तय, ६ प्रतिशत लाभांशकाे प्रस्ताव

-



     सफल आवाज    
     असाेज ४ गते २०८३ मा प्रकाशित



काठमाडाैं, ४ असाेज । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको असोज २ गते बसेको बैठकले आगामी असोज २८ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो। सभा पोखराको पार्दीस्थित होटल पोखरा ग्रान्डमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

६ प्रतिशत लाभांश पारित हुने सभाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ६ प्रतिशत लाभांश पारित गर्नेछ। प्रस्ताव अनुसार बोनस सेयर ३ प्रतिशत (रु. ३६ करोड २५ लाख ८६ हजार ३४७ बराबर) र नगद लाभांश ३ प्रतिशत (करसहित रु. ३६ करोड २५ लाख ८६ हजार ३४७ बराबर) रहेकाे छ ।

यसैगरी, सभाले गत आर्थिक वर्षको मुनाफाबाट अग्राधिकार शेयरधनीहरूलाई ८.२५ प्रतिशतका दरले हुन आउने ७ करोड ४५ लाख ८९ हजार ४१ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।

मुख्य एजेण्डा र प्रस्तावहरू

  • सञ्चालक निर्वाचन: सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना गरी कुल ४ जना सञ्चालकको निर्वाचन गर्नेछ।
  • वित्तीय प्रतिवेदन: गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालू आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गरिनेछ।
  • अख्तियारी प्रदान: प्रबन्धपत्र तथा नियमावली संशोधनका क्रममा नियामक निकायबाट प्राप्त हुने राय, सुझाव वा निर्देशनबमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत पारित गरिनेछ।