शेयर बजारमा पुँजीगत लाभ कर घट्यो: आजदेखि नयाँ दर लागू

-



     सफल आवाज    
     असाेज ६ गते २०८३ मा प्रकाशित



काठमाडौं, ६ असाेज । सरकारले शेयर बजारका लगानीकर्ताहरूलाई लक्षित गर्दै पुँजीगत लाभ कर घटाउने निर्णय गरेको छ। अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्बाट भएको उक्त निर्णय औपचारिक रूपमा नेपाल राजपत्रमा प्रकाशित भएसँगै आजदेखि नयाँ कर दर लागू हुँदैछ।

राजपत्रमा प्रकाशित सूचना अनुसार, अब नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको शेयर तथा हित बिक्री (निःसर्ग) गर्दा स्वामित्वमा रहेको अवधिका आधारमा कर असुल गरिनेछ। जसअनुसार:

  • दीर्घकालीन लगानीकर्ता (३६५ दिनभन्दा बढी स्वामित्व भएका): पुँजीगत लाभ करको दर घटाइ ३.७५ प्रतिशत कायम गरिएको छ।
  • अल्पकालीन लगानीकर्ता (३६५ दिन वा सोभन्दा कम स्वामित्व भएका): पुँजीगत लाभ करको दर ५ प्रतिशत कायम गरिएको छ।

यसअघि अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि करको दर उच्च र फरक रहेकोमा सरकारको नयाँ निर्णयले दुवै वर्गका लगानीकर्तालाई राहत पुग्ने देखिएको छ।

अर्थ मन्त्रालयका अनुसार सरकारले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो निर्णय गरेको हो। राजपत्रमा सूचना प्रकाशित भइसकेकाले नयाँ कर दर भोलिदेखि नै कारोबारमा स्वतः लागू हुनेछ।

सरकारको यस कदमले शेयर बजारमा लगानीकर्ताको मनोबल बढाउनुका साथै बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।