
संयुक्त राष्ट्रसङ्घ, ७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै देखिन सक्ने सम्भावित जोखिमलाई जिम्मेवार र सुरक्षित ढंगले व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ । उहाँले यसका लागि सदस्य राष्ट्रहरूबीच सहमतिमा आधारित बहुपक्षीय एआई जोखिम व्यवस्थापनसम्बन्धी ढाँचा निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघ महासभाको ८१औँ अधिवेशनको सामान्य बहस उद्घाटनका क्रममा मंगलबार सम्बोधन गर्दै महासचिव गुटेरेसले प्रविधिको तीव्र विकाससँगै विश्वमा शक्ति र प्रभावको स्वरूपमा पनि परिवर्तन भइरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार विगतमा शक्ति मुख्यतः भूभाग, त्यसपछि उद्योग र वित्तसँग सम्बन्धित थियो भने अहिले डेटा, कम्प्युटिङ क्षमता र एल्गोरिदमको भूमिका निरन्तर बढिरहेको छ ।
एआई प्रविधिको विकास अत्यन्त तीव्र गतिमा भइरहेको उल्लेख गर्दै गुटेरेसले यसको सम्भावित प्रभावलाई पूर्ण रूपमा बुझ्न तथा भविष्यमा देखिन सक्ने चुनौतीका लागि समयमै तयारी गर्न अन्तर्राष्ट्रिय समुदायले मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले एआईको विकास र प्रयोग पारदर्शी, जिम्मेवार र जवाफदेही ढंगले अघि बढाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
महासचिव गुटेरेसले प्रविधि आफैँमा चुनौती नभएको स्पष्ट गर्दै यसको प्रयोगमा उचित निगरानी, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्नुपर्ने बताउनुभयो । एआई प्रणाली विकासमा संलग्न केही विज्ञहरूले समेत सम्भावित सुरक्षा जोखिमबारे चिन्ता व्यक्त गरिरहेको उल्लेख गर्दै उहाँले सम्बन्धित विषयमा समयमै आवश्यक सावधानी अपनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




