
काठमाडौं, २० असोज। गत भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण उद्योग तथा सेवा क्षेत्रमा परेको अवरोधले चालु आर्थिक वर्ष २०८३/८४ मा नेपालको आर्थिक वृद्धिदर सुस्त भई ३.७ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ।
विश्व बैंकले आज सार्वजनिक गरेको नेपालको विकाससम्बन्धी अद्यावधिक प्रतिवेदन ‘भविष्यका लागि फरक ढङ्गले पुनर्निर्माण’ (Building Back Differently for the Future) मा बाढीबाट भएको व्यापक क्षतिका कारण उद्योग क्षेत्र आर्थिक वृद्धिका लागि मुख्य बाधक बन्ने उल्लेख छ।
आगामी वर्ष ५.२ प्रतिशत पुग्ने अपेक्षा
पुनर्निर्माण तथा पुनःस्थापनाका गतिविधि सुरु भएसँगै आर्थिक क्रियाकलापमा टेवा पुग्ने र आगामी आर्थिक वर्ष २०८४/८५ मा नेपालको आर्थिक वृद्धिदर ५.२ प्रतिशतमा उक्लिने बैंकको अपेक्षा छ।
बाढीका कारण जलविद्युत्, सौर्य ऊर्जा, विद्युत् प्रसारण तथा यातायात पूर्वाधारमा भएको व्यापक क्षतिले उत्पादनमूलक गतिविधि र वस्तुको आवागमनमा प्रत्यक्ष असर पारेको छ। त्यस्तै व्यापार, यातायात, पर्यटन तथा वित्तीय क्षेत्रमा परेको अवरोधका कारण सेवा क्षेत्रसमेत प्रभावित हुने प्रतिवेदनमा उल्लेख छ। कृषि क्षेत्रमा भएको क्षतिको प्रभाव समग्र उत्पादनमा सीमित रहे पनि प्रभावित क्षेत्रका नागरिकको जनजीविकामा भने गम्भीर असर पर्ने बताइएको छ।
पूर्वाधार र आधारभूत सेवाबारे पुनर्विचार गर्ने अवसर
माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका डिभिजन निर्देशक डेभिड सिस्लेनले बाढीले पुर्याएको ठूलो क्षतिलाई नेपालको पूर्वाधार र आधारभूत सेवाबारे पुनर्विचार गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्। जलवायु परिवर्तन र बदलिँदो जोखिमलाई ध्यानमा राखेर ऊर्जा, खानेपानी, स्वास्थ्य र शिक्षाजस्ता पूर्वाधारमा उत्थानशीलता र वैकल्पिक व्यवस्थालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
विश्व बैंकले क्षतिग्रस्त संरचना पुनःस्थापनामा मात्र सीमित नरही बहुविपद् जोखिमको अद्यावधिक मूल्याङ्कन गर्न, विपद् पूर्वसूचना प्रणाली सुदृढ बनाउन र एकीकृत सामाजिक संरक्षण प्रणाली निर्माण गर्न सुझाव दिएको छ।
दक्षिण एसियाको आर्थिक वृद्धि ६.९ प्रतिशत हुने, AI को प्रयोगमा जोड
विश्व बैंकको दक्षिण एसियाली आर्थिक अद्यावधिक प्रतिवेदन ‘आर्थिक वृद्धिका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग’ ले चालु वर्ष यस क्षेत्रको आर्थिक वृद्धिदर ६.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। सुदृढ आन्तरिक मागका कारण विश्वव्यापी आघातका बाबजुद दक्षिण एसियाली अर्थतन्त्र उत्थानशील रहने अनुमान छ।
एआई (AI) बाट रूपान्तरणको सम्भावना
विश्व बैंक समूहकी एसियाका लागि प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओन्सर्गले एआईको रणनीतिक प्रयोगले श्रम उत्पादकत्व वृद्धि, निर्यात विस्तार तथा स्वास्थ्य, शिक्षा र कृषि जस्ता क्षेत्रमा सार्वजनिक सेवा प्रवाह सुधार गर्न सकिने बताएकी छन्।
प्रतिवेदनले एआईको लाभ लिनका लागि जनशक्तिको सीप विकास, भौतिक तथा डिजिटल पूर्वाधारमा सुधार, साना व्यवसायलाई प्रोत्साहन र तथ्याङ्क सुरक्षा सुनिश्चित गर्ने स्पष्ट नियामक संरचना स्थापना गर्न दक्षिण एसियाली देशहरूलाई सुझाव दिएको छ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




