ऊर्जा कम्पनीको आईपीओ र हकप्रद सहज बनाउन इप्पानको माग

-



     सफल आवाज    
     असाेज २१ गते २०८३ मा प्रकाशित



काठमाडौं, २१ असाेज। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा कम्पनीहरूको आईपीओ तथा हकप्रद सेयर निष्काशनमा भइरहेको ढिलाइ अन्त्य गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) को विद्यमान व्यवस्था र कार्यप्रणालीमा व्यापक सुधार गर्न सरकारसँग माग गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी क्षेत्रसँग मागेको सुझावका क्रममा इप्पानले धितोपत्र बोर्डसँग सम्बन्धित विषयमा छुट्टै सुधार प्रस्ताव पेस गरेको हो।

आयोजना निर्माण सम्पन्न भएर विद्युत् उत्पादन सुरु भएपछि मात्र आईपीओ निष्काशन गर्न पाउने कार्यविधि ऊर्जा क्षेत्रका लागि व्यावहारिक नभएको भन्दै इप्पानले निर्माणकै क्रममा पुँजी जुटाउने बाटो सहज बनाउन आग्रह गरेको छ।

इप्पानद्वारा पेस गरिएका मुख्य सुधार प्रस्तावहरू यस प्रकार छन्:

  • ५० प्रतिशत भौतिक प्रगतिमा आईपीओ: निर्माणको चरणमै ठूलो पुँजी आवश्यक पर्ने भएकाले आयोजनाको ५० प्रतिशत भौतिक प्रगति पुगेपछि नै आईपीओ निष्काशनको अनुमति दिने पूर्ववत् व्यवस्था कायम गर्न प्रस्ताव गरिएको छ।
  • स्वीकृति प्रक्रियामा शीघ्रता: धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४(१) अन्तर्गतका व्यवस्थामा सुधार गरी आईपीओ र हकप्रद निष्काशनको स्वीकृति न्यूनतम समयमा उपलब्ध गराउने व्यवस्था मिलाउन माग गरिएको छ।
  • हकप्रद सेयर निष्काशनमा सरलता: आयोजना निर्माण तथा वित्तीय व्यवस्थापनका क्रममा थप पुँजी आवश्यक पर्दा विद्यमान सेयरधनीहरूबाट सहजै स्रोत जुटाउन सकिने भएकाले हकप्रदको नियामकीय स्वीकृति प्रक्रियालाई छिटो र सरल बनाउन आग्रह गरिएको छ।
  • बण्ड र डिबेन्चरको बाटो खोल्न आग्रह: सेयरमा मात्रै निर्भर रहनुपर्ने बाध्यता हटाउन र वैकल्पिक वित्तीय स्रोत परिचालनका लागि जलविद्युत् क्षेत्रलाई लक्षित गरी बण्ड तथा डिबेन्चर निष्काशनको स्पष्ट, सरल र छिटोछरितो कार्यविधि तत्काल लागू गर्न माग गरिएको छ।

इप्पानका अनुसार यस्ता सुधारहरू लागू भएमा ऊर्जा आयोजनाहरूको वित्तीय व्यवस्थापन सहज हुने र निर्माणाधीन आयोजनाहरू पुँजीको अभावमा रोकिनुपर्ने अवस्थाको अन्त्य हुनेछ।