सन सेक्युरिटिजकाे १ महिने स्टक सिमुलेसन प्रतियोगिता सम्पन्न

-



     सफल आवाज    
     असाेज २१ गते २०८३ मा प्रकाशित




काठमाण्डौं, २१ असाेज । सन सेक्युरिटिजले इस्लिङ्टन कलेजमा आयोजना गरेकाे १ महिने स्टक सिमुलेसन प्रतियोगिता सम्पन्न भएको छ । भदौ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता ३० दिनसम्म सञ्चालन भएको थियो । विद्यार्थीहरूलाई शेयर बजारको व्यावहारिक अनुभव प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगिता मार्फत सहभागीहरूले सिमुलेसन प्लेटफर्ममा शेयर खरिद तथा बिक्री गर्दै बजारको गतिशीलता, लगानी निर्णय, जोखिम व्यवस्थापन तथा पोर्टफोलियो व्यवस्थापनसम्बन्धी ज्ञान हासिल गर्ने अवसर प्राप्त गरेका थिए ।

प्रतियोगिताको अवधिभर विद्यार्थीहरूले बजारका गतिविधि तथा कम्पनीहरूको प्रदर्शनलाई विश्लेषण गर्दै विभिन्न लगानी तथा कारोबारसम्बन्धी निर्णयहरू लिएका थिए । यसले विद्यार्थीहरूमा शेयर बजारप्रतिको व्यावहारिक बुझाइ विकास गर्न तथा सैद्धान्तिक ज्ञानलाई व्यवहारिक अभ्याससँग जोड्न महत्वपूर्ण भूमिका खेलेको थियो ।

युवा पुस्तामा वित्तीय साक्षरता, लगानीसम्बन्धी ज्ञान तथा पूँजी बजारप्रतिको व्यावहारिक बुझाइ अभिवृद्धि गर्ने उद्देश्यअनुरूप सन सेक्युरिटिज प्रा.लि. ले यस्ता शैक्षिक तथा व्यावहारिक कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ । स्टक सिमुलेसनजस्ता कार्यक्रमले विद्यार्थीहरूलाई वास्तविक रकम लगानी नगरी बजारको व्यवहार बुझ्न, लगानी रणनीति बनाउन तथा निर्णय क्षमता विकास गर्न सहयोग पुग्र विश्वास लिइएको छ ।

सन सेक्युरिटिज प्रा.लि. ले आगामी दिनमा पनि विद्यार्थी तथा युवा पुस्तालाई लक्षित गर्दै वित्तीय साक्षरता, पूँजी बजार शिक्षा तथा व्यावहारिक लगानी ज्ञान अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।