दसैँमा बैंकको एटिएमबाटै रु. १०० को नयाँ नोट पाइने

-



     सफल आवाज    
     असाेज २१ गते २०८३ मा प्रकाशित



काठमाडौं, २१ असोज। नेपाल राष्ट्र बैंकले यस वर्षको दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई ‘एटिएम (ATM) मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ।

राष्ट्र बैंकको यो निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधिका एटिएम मेसिनबाट रु १०० का नोट वितरण गर्न थालेका छन्।

भोटेकोशीमा आएको बाढीका कारण जनधनको ठूलो क्षति भएकाले यस वर्ष नयाँ नोटबारे ठूलो प्रचारप्रसार नगरिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार दसैँलाई नै लक्षित गरेर सार्वजनिक सूचना जारी नगरिए पनि राष्ट्र बैंक र वाणिज्य बैंकहरूमार्फत सुकिला र सफा नोट सहजै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको छ।

“पैसा सटहीको काम नियमित प्रक्रिया जस्तै हो, यसका लागि विशेष सूचना नै निकालिरहनु पर्दैन। बाढीपहिरोका कारण जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै राष्ट्र बैंकले असोज १ गतेदेखि नै थापाथलीस्थित केन्द्रीय कार्यालय, प्रादेशिक कार्यालयहरू र वाणिज्य बैंकहरूमार्फत सुकिला नोट वितरण गरिरहेको छ,” प्रवक्ता पौडेलले भने।

राष्ट्र बैंकले विगत ४-५ वर्षदेखि चाडपर्वका बेला नयाँ नोट बजारमा पठाउने परिपाटीलाई क्रमशः घटाउँदै लगेको छ। प्रवक्ता पौडेलका अनुसार गत भदौ ३१ गतेसम्म रु. सात खर्ब ९४ अर्ब ‘करेन्सी इन सर्कुलेसन’ (बजारमा नोटको चलनचल्ती) रहेकोमा दसैँका क्रममा सो रकममा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको छ।