मुस्ताङ-लेतेदेखि कोरलानाकासम्म ५ सय बढी कन्टेनर अलपत्र

-



     सफल आवाज    
     असाेज २१ गते २०८३ मा प्रकाशित



मुस्ताङ, २१ असोज। असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षा, बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध हुँदा मुस्ताङको लेतेदेखि उत्तरी कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा मालवाहक कन्टेनरहरू अलपत्र परेका छन्। सडक ठप्प भएपछि एक सातादेखि ती कन्टेनरहरू जिल्लाका विभिन्न स्थानमा लामबद्ध रूपमा रोकिएका हुन्।

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको पोखरेबगर, कुनौटे र बैसरीलगायतका स्थानमा बाढी-पहिरोले पुर्याएको क्षति मर्मत भइरहेको छ। प्राविधिकहरूका अनुसार उक्त सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा आउन अझै कम्तीमा एक साता लाग्नेछ। बेनी-जोमसोम सडक ठप्प भएपछि जोमसोमस्थित बसपार्कमा मात्रै ७० भन्दा बढी कन्टेनर र १०० भन्दा बढी विद्युतीय सवारीसाधन (EVs) थन्क्याएर राखिएको छ।

जोमसोम-कोरला खण्ड खुलाएर उपल्लो मुस्ताङ भन्सारबाट जाँचपास गराइएका केही कन्टेनर जोमसोम ल्याइए पनि तल्लो खण्ड बन्द हुँदा गन्तव्यतर्फ पठाउन सकिएको छैन। यसअघि म्याग्दीतर्फ विद्युत्का पोलहरू ढलेपछि ३३ केभी प्रसारण लाइन र इन्टरनेट सेवा अवरुद्ध हुँदा भन्सार जाँचपाससमेत प्रभावित भएको थियो।

कन्टेनर चालक गोबिन्द गुरुङका अनुसार चीनबाट कोरलानाका हुँदै नेपाल भित्र्याइएका दसैँ-तिहार लक्षित लत्ताकपडा तथा खाद्यान्न बोकेका करिब ३०० कन्टेनर र २०० भन्दा बढी नयाँ विद्युतीय सवारीसाधन अझै पनि भन्सार र बाटोमै रोकिएका छन्।

चाडपर्व लक्षित मुख्य सामग्रीहरू बीच बाटोमै रोकिँदा एकातिर व्यापारीहरू समस्यामा परेका छन् भने अर्कोतिर उपभोक्ताहरू समयमै सामग्री पाउनबाट वञ्चित भएका छन्। सडक अवरुद्ध भई सामान बजारसम्म नपुग्दा चाडपर्वका बेला नेपाली बजारसमेत आर्थिक रूपमा चलायमान हुन सकेको छैन।