
जनकपुरधाम, २२ असोज। पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै गएको छ। विद्युत् चुहावट नियन्त्रण अभियान, हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेका मिटर परिवर्तन तथा विद्युत् रिडिङमा कडाइ गरिएपछि चुहावटमा उल्लेख्य कमी आएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ।
प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन र भदौ) मा विद्युत् चुहावट २०.९५ प्रतिशतमा झरेको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा २२.५६ प्रतिशत चुहावट भएकोमा चालु आवमा १.६१ प्रतिशतले कमी आएको हो। चालु आवको साउनमा २०.०९ प्रतिशत र भदौमा २१.७६ प्रतिशत चुहावट दर्ता भएको छ।
सिमरामा सबैभन्दा कम, मौलापुरमा धेरै चुहावट प्रादेशिक कार्यालयका प्रमुख इञ्जिनियर शम्भु कुसियैतका अनुसार औद्योगिक ग्राहकको बाहुल्य रहेको बाराको सिमरा वितरण केन्द्रमा सबैभन्दा कम २.९४ प्रतिशत मात्र चुहावट रहेको छ। अर्कोतर्फ, रौतहटको मौलापुर वितरण केन्द्रमा सबैभन्दा बढी ४७.७७ प्रतिशत विद्युत् चुहावट रेकर्ड गरिएको छ। मौलापुरसँगै गौर र सर्लाहीको मलङ्गवा क्षेत्र चुहावटका दृष्टिले बढी संवेदनशील देखिएका छन्।
८ हजारभन्दा बढीको लाइन काटियो, २० करोड बक्यौता असुल लामो समयसम्म विद्युत् महसुल नतिर्ने ग्राहकविरुद्ध प्राविधिक टोलीले लाइन काट्ने अभियानलाई तीव्रता दिएको छ। चालु आवको पहिलो दुई महिनामा महसुल नतिर्ने ८ हजार ७८२ ग्राहकको लाइन काटिएकोमा ८ हजार २३४ ग्राहकले बक्यौता बुझाएर पुनः विद्युत् जडान गराएका छन्। यस अभियानबाट प्राधिकरणले रु २० करोड ९ लाख ७७ हजार बक्यौता असुल गर्न सफल भएको छ।
गत आर्थिक वर्षमा पनि ४२ हजार ६६४ ग्राहकको लाइन काट्दा रु १ अर्ब ४७ लाख बक्यौता असुली भएको प्रमुख कुसियैतले जानकारी दिनुभयो।
९९.९९ प्रतिशत घरधुरीमा बिजुली मधेस प्रदेशमा ५९ प्रतिशत औद्योगिक र ३१ प्रतिशत घरेलु ग्राहक रहेका छन्। हाल प्रदेशका ९९.९९ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगिसकेको र बाँकी क्षेत्रमा पनि द्रुत गतिमा विद्युतीकरण भइरहेको छ। साथै, मधेसका जिल्लाहरूमा हालसम्म करिब १० प्रतिशत सिँचाइ क्षेत्रमा विद्युतीकरण सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




