
काठमाडाैं, २२ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको प्रयासबाट मात्र सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय सङ्कल्पबाट मात्र सम्भव हुने बताउनुभएको छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूसँग आज राष्ट्रपति भवनमा भएको भेटघाटका क्रममा राष्ट्रपति पौडेलले समृद्धिको सङ्कल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो।
नेपालको आर्थिक विकासमा निजी क्षेत्रले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै राष्ट्रपति पौडेलले अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो। महासङ्घमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति नै समग्र देशको प्रगति भएको बताउँदै उहाँले रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने स्पष्ट पार्नुभयो।
भेटका क्रममा राष्ट्रपति पौडेलले अघि सार्नुभएका प्रमुख विषयहरू:
- सरकार र निजी क्षेत्रको दायित्व: सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास र सहज प्रशासनिक वातावरण निर्माण गर्नुपर्छ भने निजी क्षेत्रले लगानी, उत्पादन, नवप्रवर्तन र रोजगारी विस्तारमा जोड दिनुपर्छ।
- आर्थिक प्राथमिकता: अबको मुख्य प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवर्द्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्छ।
- सम्भावनाका क्षेत्रहरू: जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा रहेका सम्भावनाहरूलाई परिणाममुखी ढङ्गले उपयोग गर्नुपर्छ।
- युवा जनशक्ति र विश्व बजार: देशका युवाहरूलाई स्वदेशमै अवसर र उद्यमका सम्भावना सिर्जना गर्नु सबैको साझा दायित्व हो। महासङ्घले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन र सेवालाई विश्व बजारसम्म पुर्याउन नेतृत्वदायी भूमिका खेल्नुपर्छ।
राष्ट्रपति पौडेलले दुई पक्षबीचको आपसी विश्वास र मजबुत सहकार्यले नै मुलुकको आर्थिक समृद्धिको बलियो आधार निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




