
काठमाडौं, २२ असाेज । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ७० करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।
बोर्डले अन्तर्राष्ट्रिय पर्यटन बजार विस्तार, सन् २०२७ लाई ‘आरोग्य वर्ष (वेलनेस इयर)’ का रूपमा मनाउने राष्ट्रिय अभियान, डिजिटल प्रवर्द्धन र प्रादेशिक संरचना विस्तारलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ बजेट ल्याएको हो।
गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ५९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको बोर्डले संशोधित अनुमानमा १ अर्ब २० करोड ८९ लाख (करिब ७६ प्रतिशत) मात्र खर्च गर्न सकेको थियो। आगामी वर्षका लागि भने स्रोतको आकार बढाउँदै बजेटको दायरा फराकिलो पारिएको छ।
आयको मुख्य स्रोत: पर्यटन सेवा शुल्क
बोर्डको आम्दानीको ७७.६ प्रतिशत (१ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ) रकम प्रवर्द्धनात्मक र विकासमूलक कार्यक्रममा खर्च गरिनेछ। यसैगरी, कर्मचारी खर्चमा ९.१ प्रतिशत (१५ करोड ६३ लाख), कार्यालय सञ्चालनमा ६ प्रतिशत (१० करोड २१ लाख) र सञ्चित तथा कोष व्यवस्थापनमा ७.२ प्रतिशत (१२ करोड ३५ लाख) विनियोजन गरिएको छ।
बोर्डको कुल आम्दानीमध्ये ६९ प्रतिशत (१ अर्ब १७ करोड ७८ लाख रुपैयाँ) अन्तर्राष्ट्रिय पर्यटकबाट संकलन हुने पर्यटन सेवा शुल्क (टीएसएफ) बाटै उठ्ने प्रक्षेपण गरिएको छ। बाँकी रकम सञ्चित कोष (३२ करोड ८० लाख), टिम्स खाता, आन्तरिक आय र विगतको बचतबाट बेहोरिनेछ।
बजेटका मुख्य आकर्षण तथा प्राथमिकताहरू:
- ‘वेलनेस इयर २०२७’ लाई १८ करोड: सन् २०२७ लाई आरोग्य वर्षका रूपमा मनाउन पूर्वतयारी, अन्तर्राष्ट्रिय वेलनेस सम्मेलन र रैथाने उपचार पद्धतिको बजारीकरणका लागि १८ करोड रुपैयाँ छुट्याइएको छ।
- डिजिटल प्रवर्द्धन र इन्फ्लुएन्सर्स समिट: ‘एनटीबी मास्टर एप (सुपर एप)’ विकास गर्न ५ करोड, अन्तर्राष्ट्रिय ब्लगर तथा सेलिब्रेटीहरू सहभागी गराइने ‘इन्फ्लुएन्सर्स समिट’ का लागि ४ करोड र डिजिटल कन्टेन्ट बैंक स्थापनाका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
- पाँच प्रदेशमा नयाँ कार्यालय: हाल पोखरामा मात्र सीमित प्रादेशिक संरचनालाई विस्तार गर्दै कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ कार्यालय स्थापना र क्षमता विकासका लागि ४ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
- अन्तर्राष्ट्रिय बजार व्यवस्थापन (३१.२१ करोड): लन्डनको डब्लूटीएम (६.४० करोड), बर्लिनको आईटीबी (३.८० करोड), भारतको साट्टे र ओटीएम (५ करोड) लगायत चीन, रुस, स्पेन र जापानका पर्यटन मेलाहरूमा सहभागिता जनाइनेछ। साथै भारत र चीनमा ‘सेल्स मिसन’ तथा जनकपुर लक्षित ‘वेडिङ टुरिजम’ प्रवर्द्धन गरिनेछ।
- पोखरा कार्यालयलाई १२ करोड ३९ लाख: गण्डकी प्रदेश कार्यालय पोखराका लागि १२ करोड ३९ लाख रुपैयाँ विनियोजन गरिएको छ, जसबाट लेकसाइडमा आधुनिक शौचालय निर्माण (२ करोड), सडक बत्ती (४९ लाख) तथा पोखरा सडक महोत्सव, फेवा नववर्ष महोत्सव र ‘चलिए पोखरा’ अभियान सञ्चालन गरिनेछ।
- पूर्वाधार र उद्धार कोष: भारतीय सीमानाकामा सूचना केन्द्र स्थापना (१.२० करोड), पर्यटकीय सुविधा केन्द्र निर्माण (३ करोड) का साथै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ योगदान गर्ने व्यवस्था बजेटमा गरिएको छ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




