
पोखरा, २९ असोज। नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ, कास्कीको आयोजनामा २०८३ सालको बडा दशैँ, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा एक भव्य शुभकामना आदानप्रदान कार्यक्रम संघका अध्यक्ष मन बहादुर सुनारको अध्यक्षतामा संघको सचिवालय, पोखरा-२, भैरबटोलमा सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघका गण्डकी प्रदेश अध्यक्ष तथा सल्लाहकार राम बहादुर विकको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष भरत विक, कानुनी सल्लाहकार शिव वाग्ले, प्रेस सल्लाहकार आरजू विष्ट सल्यानी लगायत पदाधिकारी, कार्यसमिति सदस्यहरू तथा कार्यालय सचिवको आतिथ्यता रहेको थियो। संघका महासचिव सुरेन्द्र विकले सञ्चालन गर्नुभएको सो कार्यक्रम प्रथम उपाध्यक्ष सुरेन्द्र विकले समापन मन्तव्य राख्नुभएको थियो।

अध्यक्षको मन्तव्य तथा शुभकामना मन्तव्यको पूर्ण अंश:
कार्यक्रमका अध्यक्ष मन बहादुर सुनारले आफ्नो स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई हार्दिक अभिवादन तथा नमस्कार व्यक्त गर्नुभयो। उहाँले नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ, कास्कीको तर्फबाट यस गरिमामय शुभकामना आदानप्रदान कार्यक्रममा पाल्नुहुने सबैलाई न्यानो अभिवादन र आत्मीय सम्मान व्यक्त गर्नुभयो।
आफ्नो मन्तव्यलाई अगाडि बढउँदै अध्यक्ष सुनारले भन्नुभयो, “आज हामी नेपालीहरूको महान् चाड बडा दशैँ, उज्यालो र उमङ्गको पर्व दीपावली, हाम्रो मौलिक पहिचान बोकेको नेपाल संवत् ११४७ तथा श्रद्धा, आस्था र सूर्य उपासनाको पर्व छठको पावन अवसरमा एकै ठाउँमा भेला भएका छौँ। यो केवल शुभकामना आदानप्रदान गर्ने कार्यक्रम मात्र होइन, आपसी सद्भाव, भाइचारा, एकता, सहकार्य र आत्मीयतालाई अझ प्रगाढ बनाउने एउटा महत्वपूर्ण अवसर पनि हो। यस सुखद अवसरमा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।”

चाडपर्वहरूको महत्वमाथि प्रकाश पार्दै अध्यक्ष सुनारले थप भन्नुभयो, “चाडपर्व हाम्रो संस्कृति, परम्परा, सामाजिक सद्भाव र राष्ट्रिय एकताको जीवन्त पहिचान हुन्। बडा दशैँले हामीलाई सत्यको विजय, असत्यमाथि सत्यको जित र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ। दीपावलीले अन्धकारबाट उज्यालो तर्फ, निराशाबाट आशा तर्फ र असफलताबित सफलता तर्फ अघि बढ्ने प्रेरणा प्रदान गर्दछ। नेपाल संवत्ले हाम्रो मौलिक इतिहास, भाषा, संस्कृति र राष्ट्रिय पहिचानको स्मरण गराउँछ भने छठ पर्वले प्रकृति, सूर्य र जलप्रति Cको सम्मान तथा अनुशासन, आस्था र समर्पणको भावना जागृत गराउँछ।”
उहाँले यी सबै पर्वहरूका आ-आफ्नै विशेषता भए पनि तिनीहरूको साझा सन्देश एउटै—प्रेम, सद्भाव, सहिष्णुता, एकता र मानवताको संरक्षण रहेको बताउनुभयो। त्यसैले हामीले चाडपर्वलाई आफ्नो परिवारमा मात्र सीमित नराखी समाजमा आपसी मेलमिलाप, सहयोग र सद्भाव बढाउने अवसरका रूपमा लिनुपर्नेमा उहाँले जोड दिनुभयो। हामी नेपालीहरू विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र परम्परामा आबद्ध भए पनि हाम्रो साझा पहिचान नेपाली हुनु हो र यही विविधताभित्रको एकता नै हाम्रो देशको सुन्दरता हो भन्दै यस एकतालाई अझ बलियो बनाउन यस्ता शुभकामना आदानप्रदान कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्नेछन् भन्ने दृढ विश्वास अध्यक्ष सुनारले व्यक्त गर्नुभयो।
प्रमुख अतिथि तथा अन्य वक्ताहरूको भनाइ:
कार्यक्रमका प्रमुख अतिथि एवम् संघका गण्डकी प्रदेश अध्यक्ष तथा सल्लाहकार राम बहादुर विकले सुनचाँदी व्यवसायीहरूको व्यावसायिक हकहित, सुरक्षा र पेशागत अधिकारका बारेमा मन्तव्य राख्नुभएको थियो। उहाँले व्यवसायीहरूबीच एकता अपरिहार्य रहेको औंल्याउँदै यस प्रकारका चाडपर्वले व्यवसायीहरूलाई व्यावसायिक तनावबाट बाहिर ल्याएर आपसी मेलमिलाप र सहकार्यको भावना विकास गर्न मद्दत पुर्याउने बताउनुभयाे।
त्यसैगरी कार्यक्रममा निवर्तमान अध्यक्ष भरत विक, कानुनी सल्लाहकार शिव वाग्ले र प्रेस सल्लाहकार आरजू विष्ट सल्यानी लगायतले शुभकामना मन्तव्य राख्दै चाडपर्वको शुभकामना साटासाट गर्नुका साथै संघको आगामी कार्ययोजना र व्यावसायिक हितका विषयमा आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन संघका महासचिव सुरेन्द्र विकले गर्नुभएको थियो भने समापन मन्तव्य प्रथम उपाध्यक्ष सुरेन्द्र विकले राख्दै कार्यक्रमलाई सफल बनाउन उपस्थित हुने सम्पूर्ण व्यवसायी तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।









काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




