इभी गाडी दुर्घटनाः मृतक १० जनाकाे पहिचान खुल्याे

-



     सफल आवाज    
     कार्तिक २६ गते २०८३ मा प्रकाशित



काठमाडौं, २६ कात्तिक। मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बिहान करिब ६ः१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

सबैकाे पहिचान खुल्यो

मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा मृत्यु भएका चालकको पहिचान खुलेको छ । इभी चालक सर्लाही कविलासी नगरपालिका–८ का रविशङ्कर कुमार मण्डल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

मृतकमध्ये १० जना सर्लाहीकै चक्रघट्टा गाउँपालिका-४, सुन्दरपुर टोलका बासिन्दा रहेको उहाँले बताउनुभयाे । दुर्घटनामा एकै परिवारका आमा र तीन छोरी तथा अर्को परिवारका श्रीमान्–श्रीमतीकै मृत्यु भएको छ।

अन्य ज्यान गुमाउनेहरूमा ३५ वर्षीया पुनम यादव र उनका तीन छोरीहरू क्रमशः १० वर्षीया अनु कुमारी यादव, ७ वर्षीया दिक्षा यादव र ५ वर्षीया दिपिका यादव छन्। यस्तै ३६ वर्षीय गुड्डु यादव र उनकी श्रीमती ३२ वर्षीया गायत्रीदेवीको मृत्यु भएको छ। यस्तै २६ वर्षीय बिकेश यादव, २६ वर्षीय राम दुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादवको ज्यान गएको प्रवक्ता काफ्लेले जानकारी दिनुभयाे।