
पोखरा, ३० कात्तिक । कास्कीको हेमजामा दोस्रो संस्करणको हेमजा साहित्य महोत्सव आयोजना हुने भएको छ। हेमजा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा आगामी मंसिर ५ र ६ गते दुई दिनसम्म महोत्सव सञ्चालन हुने भएको हो।
महोत्सवबारे जानकारी दिन साेमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति र सिर्जनशीलताको संरक्षण, संवर्धन तथा प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जनाएको छ।
प्रतिष्ठानका अनुसार पहिलो महोत्सवको सफलताबाट उत्साहित हुँदै दोस्रो संस्करणलाई अझ व्यापक र सहभागितामूलक बनाउने तयारी गरिएको छ। पहिलो महोत्सवमा एकचालीस जिल्लाका सर्जकहरूको सहभागिता रहेको थियो।
प्राकृतिक सौन्दर्य, सांस्कृतिक वैभव र साहित्यिक चेतनाले सम्पन्न हेमजालाई साहित्यिक पहिचान दिलाउने उद्देश्य महोत्सवले लिएको छ। हेमजालाई ‘काव्यनगरी’का रूपमा स्थापित गर्ने अभियानलाई समेत महोत्सवले अगाडि बढाउने प्रतिष्ठानले जनाएको छ।
महोत्सवमा कविता, आख्यान, गजल, मुक्तक, गीत, बालसाहित्य, समालोचना, साहित्यिक विमर्श, स्रष्टा सम्मान, काव्यवाचन तथा पुस्तक परिचर्चालगायत कार्यक्रम समावेश गरिनेछन्। यसैगरी स्थानीय कला, संस्कृति, मौलिकता र हेमजाको साहित्यिक पहिचानसँग सम्बन्धित गतिविधिलाई पनि प्राथमिकता दिइनेछ।
मंसिर ५ गते शनिबार उद्घाटन सत्रसँगै ‘अनुभूति र अभिव्यक्ति’ विषयमा कविता, ‘काव्यनगरी हेमजा : साहित्यिक पर्यटनको सम्भावना’ विषयमा संवाद तथा साङ्गीतिक प्रस्तुति, लोकसंस्कृतिको धुन र भजनमा हेमजालगायत कार्यक्रम हुनेछन्।
त्यस्तै, मंसिर ६ गते आइतबार ‘माटीमा सिर्जना : काव्यनगरी दर्शन’, कविता हुँदै आख्यान र गैरआख्यानसम्म, मुक्तक वाचन, कविता वाचन, लघुकथा वाचन, गजल वाचन तथा समापन कार्यक्रम राखिएको छ।
महोत्सवको उद्घाटन समारोहमा कविवर एवं भाषासेवी मुकुन्दशरण उपाध्यायलाई अभिनन्दन ग्रन्थ अर्पण गरिने कार्यक्रमसमेत रहेको छ।
महोत्सवले हेमजाको मौलिक पहिचान, भाषा, संस्कृति, पर्यटन, कला र सामाजिक एकतालाई उजागर गर्ने अपेक्षा गरिएको छ। स्थानीय तह, शैक्षिक संस्था, सञ्चारमाध्यम, साहित्यप्रेमी तथा देशभरका साहित्यिक संस्थाको सहकार्यमा महोत्सवलाई सफल बनाउने प्रतिष्ठानले जनाएको छ।
हेमजा साहित्य प्रतिष्ठान नेपालका अध्यक्ष सुनील गायकले साहित्यको उत्सव र सिर्जनाको सम्मानका रूपमा महोत्सवलाई स्थापित गर्न सबै साहित्यकार, स्रष्टा, प्राज्ञिक व्यक्तित्व, संघसंस्था तथा आम नागरिकलाई सहभागी हुन आग्रह गरेका छन्।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २५ का अध्यक्ष तथा महानगरपालिकाका प्रवक्ता मोती तिमिल्सिना र साहित्यकार छन्दमणि लगायतले हेमजा साहित्य महोत्सवले हेमजाको मात्र नभई समग्र पोखराको साहित्यिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उनीहरूले महोत्सवले नयाँ तथा लुकेर रहेका साहित्यिक प्रतिभाहरूलाई आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर र उचित स्थान प्रदान गर्ने बताउँदै नेपाली भाषा, साहित्य र सिर्जनाको श्रीवृद्धिमा टेवा पुग्ने धारणा राखे। साथै, यस्ता साहित्यिक गतिविधिले हेमजाको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्न र पोखराको साहित्यिक पर्यटन प्रवर्धन गर्नसमेत सहयोग पुग्ने उनीहरूको भनाइ थियो।
कार्यक्रम महासचिव काेविदशरण उपाध्यायले सञ्चालन गरेका थिए ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




