टुर दी पोखराको तयारी पूरा, ५० किमि मेयर कप साइकल दौडमा ६० जना सहभागि हुँदै

-



     सफल आवाज    
     पौष ४ गते २०७९ मा प्रकाशित



पोखरा, ४ पुस । यस बर्ष पोखरामा आयोजना हुने छैटौं संस्करणको टुर दी पोखराको तयारी पूरा भएको छ । साइकल सिटी पोखराको आयोजनामा यही पुष ७ देखि ९ गते सम्म हुने टुर दी पोखराको तयारी पुरा भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

थोपा थोपा इन्धन बचाऔं भन्ने नारा सहित आयोजना हुने उक्त कार्यक्रमको अन्तिम तयारी पूरा भएको टुर दी पोखराका संयोजक राजन गोङ्गजुले बताए । अघिल्ला दुई बर्ष कोरोनाको कारण प्रभावित भई स्थगित भएको उक्त इभेण्टलाई यस बर्ष भब्य एवं सभ्य रुपमा सम्पन्न गर्न तयारीमा जुट्दै गर्दा यस बर्ष करिब पोखरा बाहिरका ४ सय जना साइकलिष्ट सहित १ हजार ५ सय जनाको सहभागिता हुने भएको आफुहरुले अपेक्षा गरेको उनले जनाए ।

टुर दी पोखराको पूर्व सन्ध्यामा यही पुष ६ गते पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा दोश्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता हुने भएको संयोजक गोङ्गजुले बताए ।

उक्त प्रतियोगितामा सहभागिताको लागि कास्की सहित हालसम्म ६० जना व्यवसायीक साइकलिष्टहरुले आफ्नो नाम दर्ता गराएको समितिका सदस्य सचिव सुवास खड्काले बताए । करिब ५० किलोमिटर साइकल प्रतियोगिताका विजेतालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको उनले जनाए ।

उक्त दौड पोखरा २१ को युवा बर्ष आधारभूत बिद्यालय नजिकै कमेरे बाट सुरु भई मट्टिखान, धुवारकोट,बाघखोर,भालुडाँडा हुदै पुनः कमेरेमा आएर समापन हुने भएको छ । साथै ४० बर्ष माथिका साइकल दौडमा सहभागि विजेतालाई १०,उपविजेतालाई ७ र तेश्रो हुनेलाई ५ हजार प्रदान गरिने भएको छ । दुबै विधामा शान्त्वना हुने २÷२ जनालाई जनही ५÷५ हजार प्रदान गरिने भएको छ ।

स्वास्थ्य, वातावरण र पर्यटनका लागि साइकल भन्ने नाराका साथ साइकल सिटीले टुर दी पोखरा कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको छ । कार्यक्रममा देशका विभिन्न भागबाट साइकल यात्रीहरू सहभागी हुने भएको पोखरा साइकल सिटीका अध्यक्ष अभिषेक कोइरालाले बताए । टुर दी पोखरा अन्र्तगत फ्रान्समा हुने साइकल टुर कै झल्को दिने गरी पुष ७ गते ७२ किलोमिटर दुरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यावासिनी मन्दिर जोड्ने गरी यात्रा हुने भएको संयोजक गोङ्गजुले जनाए ।

कम्तिमा एक दिन भएपनि साइकल चढेर पेट्रोलियम खपत घटाउने अभियान आफुहरुले सुरु गर्ने बताएका उनले अब साइकलको प्रयोगलाई प्रथामिकता दिनुपर्नेमा जोड दिए । पुष ९ गते पोखरामा करिब १९ किलोमिटर साइकल र्याली हुने भएको छ भने सोही दिनमै उक्तदान कार्यक्रम समेत हुने भएको साइकल सिटी पोखराका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यले बताए । पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्याली पोखराका विभिन्न भाग परिक्रमा गरी प्रर्दशनी केन्द्रमै पुगेर समापन हुने भएको छ ।