
पोखरा, २३ पुस । २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि संकटा फुटबल क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा अमेरिकाको भुटनीज युथ सकर क्लब (युएसए)लाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै संकटा च्याम्पियन बन्न सफल भएकाे हाे।
रोमान्चक खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि संकटा च्याम्पियन बनेको हो । संकटाकाे याे जीत दोस्रो पटककाे उपाधि माथिकाे जित हाे । खेल अतिरिक्त समयमा जानु अघि खेलको आठौं मिनेटमा सुरज ठकुरीले गोल गर्दै संकटालाई सुरुआती अग्रता दिएका थिए ।
खेलकाे ३५ औं मिनेटमा मेसुके ओलुमोउले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए । खेलको ३७ औं मिनेटमा रेने सान्टिलोनले गोल गर्दै भुटनीजलाई २-१ मा पुर्याए । पहिलो हाफको इन्जुरी समयमा विलिस ग्रिफिथले गोल गर्दै भुटनीजलाई २-२ गोलको बराबरीमा लगेका थिए ।
दोस्रो हाफमा दुबै टोलीले थप गोल नगरेपछि खेल अतिरिक्त समयमा खेलाइएकाे थियो । अतिरिक्त समयको ११७ औं मिनेटमा सुनिलले टीमका लागि निर्णायक गाेल गरे हुन् । उपाधिसँगै संकटाले १२ लाख नगद पुरस्कार, शिल्ड र मेडल प्राप्त गरेको छ । उपविजेता बनेको भुटनीजले ६ लाख नगद पुरस्कार, शिल्ड र मेडल प्राप्त गरेको छ ।
संकटाका कप्तान सुनिल बल बने सर्वोत्कृष्ट खेलाडी

सर्वोत्कृष्ट खेलाडी बनेका सुनिलले टेल्जीको इलेक्ट्रिक स्कुटर टाइगर पाएका छन्। टेल्जी नेपालका निर्देशक सञ्जिव शिल्पकारले साे स्कुटरको साचो हस्तान्तरण गरेका थिए ।
संकटाका टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर
प्रतियोगितामा संकटाका टिकेन्द्र थापा उत्कृष्ट गोलकिपर बने । भुटनीजका हेक्टर ओर्टेगा उत्कृष्ट डिफेन्डर बने भने संकटाका आयुष घलान उत्कृष्ट मिडफिल्डर घाेषित भए । संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड तथा सल्याण खड्की उत्कृष्ट प्रशिक्षक घाेषित भए ।
प्रतियोगितामा ४ गोल गरेका संकटाका मेसुके ओलेमोउ सर्वाधिक गोलकर्ता घाेषित भए । प्रतियाेगितामा धरान एफसीले फेयर प्ले अवार्ड प्राप्त गर्यो । विधागत रुपमा उत्कृष्ट हुनेले जनही २५ हजार र सर्वाधिक गोलकर्ताले २५ हजार प्राप्त गरेका थिए।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा ! तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजन रहेकाे प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियाे । सहारा क्लब पोखराले प्रतियोगिताबाट बचत हुने रकम क्लबले संचालन गरेकाे सूर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीका लागि खर्च गरिने क्लबले जनाएकाे । साे एकेडेमिमा अहिले तेश्रो व्याचका १० जिल्लाका १३ जना रहेका छन् ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




