नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

-



     सफल आवाज    
     पौष २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ पुस । नेपाल टी–२० लिगको उपाधि लुम्बिनी अल स्टार्सले जितेको छ । विराटनगर सुपर किंग्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्सले उपाधि हात पारेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०९ रनमात्र बनाउन सकेपछि नतिजा लुम्बिनीको पोल्टामा गएको हो ।

विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा सर्वाधिक ३४ रन बनाए । यसैगरी अर्का ओपनर गौरान्सु शर्माले ४ रन जोडे । कप्तान रोहितकुमार पौडेलले खाता खोल्न सकेनन् । उनी पहिलो बलमै आउट भएका हुन् । हुसेन तलातले १३ रन बनाए भने पृथु बास्कोटाले २९ बलमा ३१ रन जोडे । बलिङतर्फ लुम्बिनीका सागर ढकाल र हर्मित सिंहले समान २–२ विकेट लिए । विपुल शर्मा र किशोर महतोले १ –१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाएर १३३  रनको योगफल खडा गरेको थियो ।लुम्बिनीका ओपनर लहिरू मिलन्थाले सर्वाधिक ४१ रन बनाए । अर्का ओपनर हर्मित सिंहले ३० रन बनाए । 

कप्तान दीपेन्द्रसिंह ऐरीले २० र इसान पाण्डेले १८ रन बनाए । विराटनगरका राज नानन र नन्दन यादवले २–२ तथा हुसैन तलात, किओन जोसेफ, सुर्य तामाङ र कप्तान रोहितकुमार पौडेलले समान १-१ विकेट लिए । 

लिगको उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेताविराटनगरले ३० लाख प्राप्त गर्यो । तेस्रो भएको जनकपुर रोयल्सले १० लाख र चौथो भएको काठमाडौं नाइट्सले पाँच लाख रुपैयाँ हात पारे ।