बिटी कपः क्वार्टरफाइनलको समीकरण पूरा

-



     सफल आवाज    
     माघ २९ गते २०७९ मा प्रकाशित



पोखरा, २९ माघ । पोखरामा जारी बुद्धटोल युवा क्लबद्वारा आयोजित १६ औं बिटी कप छैटौं विरेन स्मृति सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा क्वार्टरफाइलनलको समीकरण पूरा भएको छ ।

पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा शनिबार भएको पहिलो खेलमा लामागाउँ एफसीले लेकसाइड एफसीलाई ४–१ गोल अन्तरले पराजित गर्यो । लामागाउँको जितमा अनुज भण्डारीले ह्याट्रिक गर्दा सरोज तामाङले १ गोल र लेकनाथ एफसीका विवेक सन्तोषीले सान्त्वना गोल फर्काए ।

यस्तै दोस्रो खेलमा एलजी एसोसियशनले विष्णुपादुका क्लबलाई १–० गोल अन्तरले पराजित गर्यो । एलजीको जितमा आनन्द दुराले निर्णायक गोल गरे ।

आयोजक बिटी ह्वाइट र सत्य युवा क्लबबीच भएको तेस्रो खेल निर्धारित समयमा २–२ गोलमा बराबरी भएपछि टाइब्रेकरमा आयोजक बिटी ह्वाइटले ६–५ गोल अन्तरले जित निकाल्यो ।

चौथो तथा अन्तिम खेलमा गन्नी एफसीले वी आर ब्रदर्शलाई ३–१ गोल अन्तरले पराजित गर्यो । गन्नीको जितमा सुनील घोतानेले २ र सन्जीव रानाले १ गोलको योगदान दिए भने वी आरका मान्नाले सान्त्वना १ गोल फर्काए ।