युएईले नेपाललाई दियो ३११ रनको विशाल लक्ष्य

-



     सफल आवाज    
     चैत्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ चैत । आईसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई जितका लागि ३११ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज जारी खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रनको विशाल योगफल बनाएको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिलो पटक यति ठूलो रनको लक्ष्य प्राप्त गरेको हो ।

युएईका लागि आसिफ खानले शतक प्रहार गरे । कुल ४२ बल खेलेका उनले ११ छक्का र ४ चौकाको मद्दतमा अविजित १०१ रनको योगदान गरे । यसैगरी युएईका अर्का खेलाडी वृत्य अरविन्दले ९४ रन जोडे । १३८ बल खेलेका उनले २ छक्का र ८ चौकाको मद्दतमा ९४ रनको योगदान दिएका हुन ।

त्यस्तै यूएईका कप्तान मुहम्मद वासीमले पनि अर्धशतक प्रहार गरे । उनले ४३ बलमा ६ छक्का र दुई चौका प्रहार गर्दै ६३ रन बनाए । साथै रोहन मुस्तफाले २० रन र आर्यन लाक्राले ६ रन बनाए । सिपी रिजवानले ७ र अयान अफजल खानले ३ रन जोडे ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए भने सन्दीप लामिछाने, ललित राजवंशी र सोमपाल कामीले समान एक -एक विकेट लिए । 

सन् २०१९ देखि सुरुआत भएको आइसीसी विश्वकप लिग-२ को अन्तिम खेल नेपालका लागि निर्णायक मानिएको छ । यस खेलमा नेपाल विजयी भए शीर्ष तीनभित्र पर्दै आगामी वर्ष जिम्बाब्वेमा हुने एक दिवसीय विश्वकप ग्लोबल छनोट खेल्न पाउनेछ । यदि नेपाल युएईसँग पराजित भएको खण्डमा यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने छ । नेपाल पराजित भए नामिबियाले विश्वकप छनोट खेल्न पाउने छ ।