यूएईमाथि ९ रनको जित निकाल्दै नेपाल विश्वकप छनौट चरणमा

-



     सफल आवाज    
     चैत्र २ गते २०७९ मा प्रकाशित



काठमाडौं, २ चैत । यूएईमाथि ९ रनको जित निकाल्दै नेपाल एकदिवसीय विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । विश्वकप क्रिकेट लिग टूको अन्तिम खेलमा आज त्रिवि मैदान कीर्तिपुरमा युएईलाई डकवर्थ लुइस मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो ।

त्रिवि मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको विशाल स्कोर खडा गर्यो । अहिलेसम्ममै सबैभन्दा ठूलो विजय लक्ष्य पछ्याउन जवाफी ब्याटिङमा उत्रेको नेपालले ४४ ओभरमा ६ विकेटको क्षतिमा २६९ रन बनाएपछ केही बेर खेल रोकियो । केही बेरमा रेफ्रीहरुले डकवर्थ लुइस मेडथका आधारमा नेपाल ९ रनले विजयी भएको घोषणा गरे । केही बेरमा आईसीसीबाट त्यसको पुष्टि भएपछि नेपाल यूएईलाई हराउँदै आधिकारिक रुपमा विश्वकप छनौट चरणमा पुगेको हो ।

३१० को स्कोर बनाउने क्रममा यूएईका आसिफ खानले ४२ बलमा अविजित १०१ रन बनाए । वृत्य अरविन्दले ९४ तथा मुहम्मद वासिमले ६३ रनको योगदान दिए । बलिङतर्फ नेपालका दिपेन्द्र सिंह ऐरीले २ तथा सोमपाल कामी, सन्दीप लामिछाने तथा ललिच राजवंशीले समान १-१ विकेट लिए ।

जवाफमा नेपालले ४४ ओभरमा ६ विकेट गुमाउँदै २६९ रन बनायो । नेपालका ४ जनाले अर्धशतकीय पारी खेले । कुशल भुर्तेलले ५०, भिम शार्कीले ६७,आरिफ शेखले ५२ रन बनाएर आउट भए भने गुल्शन झा ५० रनमा र दिपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहँदा खेल रोकिएपछि डकवर्थ लुइस मेथडबाट नेपाल ९ रनले विजयी घोषित भयो । यूएईका जुनैद सिद्धिकीले ३, अयान अफजल खानले २ तथा जहूर खानले १ विकेट हात पारे ।