गण्डकी बोर्डिङमा ३ दिने वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाईलो मेला तथा सांस्कृतिक कार्यक्रम सुरु

-



     सफल आवाज    
     पौष ५ गते २०८० मा प्रकाशित



पोखरा, ५ पुस । पोखरा लामाचौरमा रहेको गण्डकी बोर्डिङ स्कुलमा आजदेखि ३ दिने वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाईलो मेला तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।

विद्यालयको खेलमैदानमा विद्यार्थी, अभिभावक, विद्यालयका प्राचार्य वीरेन्द्र खड्का, शिक्षकहरुको उपस्थितिमा प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बेलुन उडाएर तथा व्यानर प्रदर्शन गरी शुभारम्भ गरेका थिए ।

सो अवसरमा प्रजिअ घिमिरेले विद्यालयले आयोजना गरेको कार्यक्रम अनुशासित उत्सव भएको बताए । हामीले थाहा पाएका छौं यहाँ उत्पादन भएका विद्यार्थीहरुले देश तथा विदेशमा राम्रो पकड जमाएका छन् । अहिलेका विद्यार्थी भोलिका राष्ट्रका कर्णधार भएकोले देशका हरेक क्षेत्रमा असल नेतृत्व गर्ने जिम्मेवारी तपाँइहरुकै काँधमा आउछ । त्यसैले लक्ष्यमा पुग्न अहिलेदेखिको मेहनत आवश्यक हुने उनले बताए ।

यो विद्यालयले अहिलेसम्म आफ्नो गरिमा उच्च बनाउँदै आएको छ । यसको साखलाई जोगाईरहन सरोकारवाला सबैको सहयोग आवश्यक भएको बताए । गण्डकी बाेर्डिङ एक गर्व गर्न लायकको विद्यालय भएकोले त्यसलाई बचाईरहन र गुणस्तर बृद्धिमा ध्यान दिन सल्लाह दिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य वीरेन्द्र खड्काले विद्यालयमा अध्ययन अध्यापनका साथसाथै अतिरीक्त क्रियाकलापहरुलाई उत्तिकै महत्व दिईएको बताए । विद्यार्थीले के गर्न चाहन्छन्, के खेल्न चाहन्छन् र उनीहरुको लागि हामीले वातावरण तयार पारिदिएका छौं । उनले भने, खेलको कुन विधा रोज्ने र खेल्ने विषयमा निर्णय गर्ने जिम्मा विद्यार्थीमै छोडिदिन्छौ ।

बिहिबारबाट हामीले ३ दिने वार्षिक खेलकुद, शैक्षिक प्रदर्शनी, रमाइलो मेला तथा सांस्कृतिक कार्यक्रम सुरुआत गरेका छौं र पुस ७ गते भव्य सांस्कृतिक, पुरस्कार वितरण, शैक्षिक प्रदर्शनी र मेलाको आयोजना गरेर समापन गर्नेछौं ।

खड्काले पढाईको साथमा खलकुदप्रतिको लगाव, प्राप्त भईरहेका उपलव्धि र योगदानबाट विद्यालय परिवार मन्त्रमुग्ध भएको बताए । बालबालिकालाई खेलकुदमा भाग लिन र शैक्षिक सन्तुलनका लागि उनीहरुले प्रदर्शन गर्ने निरन्तरको जोशले सफलताउन्मुख गराईरहेको छ । यसका लागि विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकार राख्ने सबैप्रति हामी आभारी छौं, उनले भने ।

वार्षिक खेल दिवस हाम्रो परम्परा हो । जो विद्यालय स्थापना भएदेखि नै सुरु भएको हो र निरन्तर जारी छ । अर्को कुरा विद्यालयमा छिरीसकेपछि विद्यार्थीले आफैंले आफैंलाई बनाउन सुरु गर्छन् । हामीले यसका लागि गाईडलाईन मात्रै दिने हो । उनीहरुको विकास, आत्मविश्वास र आउन सक्ने चुनौतीहरुको सामना गर्न सक्ने बनाउनु हाम्रो लक्ष्य हो जो हामीले पाईरहेका छौं ।
अतिरीक्त क्रियाकलाप र खेलहरुले विद्यार्थीलाई महत्वपूर्ण सिपहरुको विकास र कलाकौशलहरु दिने हाम्रो विश्वास रहेको छ । यतिमात्र नभई जीवन जिउन सिक्ने कला, अनुशासन, काममा लगाव, दृढताको विकास, कडा परिश्रमी बन्ने, कर्मठ र प्रतिवद्ध हुने बाटो देखाईदिन्छन् । खड्काले भने, विद्यार्थीमा सामाजीकरण र एकतामा रहन सक्ने सिपकाे विकास हुन्छ ।

खेलले विद्यार्थीको स्वास्थ्यमा फाइदाकासाथै साहसी बनाउने र जिम्मेवारीको बोध गराउने भएकोले उनीहरुलाई भविष्यमा अरुप्रति इमान्दारी र जिम्मेवारी बहन गर्नमा सहयोगि हुने बताए । स्वस्थ जीवन जिउनका लागि मानसिक स्वास्थ्य पनि चाहिने भएकोले यो सबै खेलकुदबाट पाईने उनकाे भनाई छ। अध्ययन गर्न बसेको बेला ध्यान केन्द्रित गराउने यसमा गजबको क्षमता रहेकाे सुनाए ।

२०२२ सालमा गण्डकी बोर्डिङ स्कुलका लागि जग्गा उपलव्ध गराएका लामाचौरका बलराममान सिंह भण्डारीले स्कुल खोल्नका लागि १ हजार रुपैयाँ जग्गा किन्छौ भन्दा उ बेला हामीलाई पैसाभन्दा त्यसै दिन मन छ भनेर ५८ रोपनी जग्गा उपलव्ध गराएका हौं भण्डारी परिवारको तर्फबाट उनले भने । अहिले निकै खुसि लागेको छ । हरियाली फराकिलो मैदान, विद्यालयका भवनहरु, विद्यार्थीहरु पढिरहेका र नेपालकै गौरव लाग्ने उत्कृष्ट विद्यालय बनेको छ । यहाँ आउँदा छाति ठूलो भएको महशुस हुन्छ, भण्डारीले भने ।

विद्यालयको खेलकुद कार्यक्रमका संयोजक मोहनप्रसाद गुरुङले खेलकुदका सबै प्रकारका खेलहरुमा विद्यार्थीले भाग लिएका बताए । उनले ८४ वटा ट्रयाकका रनिङ इभेन्ट्स रहेका र कक्षागत तह अनुसार जुनियर, सिनियरका खेलहरु भईरहेका बताए । भलिवबल, ह्याण्डबल लगायतका खेलहरु र अन्य खेल समावेश गरिएको छ ।

शुभारम्भमा आज ३ सय जना विद्यार्थीहरुले राष्ट्रिय गीतमा सामूहिक मार्चपास गरेका थिए । कार्यक्रमको संचालन मान बहादुर थापाले गरेका थिए ।