आयोजक सहारा क्लव थ्रीस्टारसंग २/१ ले पराजित

- प्रतियाेगिताले पाेखरा र देशलाई चिनाएकाे छ : मेयर आचार्य

-



     सफल आवाज    
     माघ ९ गते २०८० मा प्रकाशित



पोखरा, ९ माघ । २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कपको उद्घाटन खेलमा आज आयोजक सहारा क्लवलाई हराउँदै थ्रीस्टार क्लव क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टारले आयोजक सहारालाई २/१ ले पराजित गरेको हो । खेल शुरु भएको ६ मिनेटमा थ्रीस्टारमा क्याप्टेन समेत रहेका योगेश गुरुङले प्रतियोगिताकै पहिलो गाेल गरेका थिए । थ्रस्टारको लागि दोश्रो गोल एञ्जल महर्जनले गरेका हुन् ।

पहिलो हाफको २३ औं मिनेटमा सहारा क्लवका आशिष गुरुङले लक्ष्मण रुचालले पास दिएको बललाई हेडमार्फत जालि चुमाउदा खेल १/१ गोलको बराबरीमा पुगेको थियो ।

दोश्रो हाफमा सहाराको फितलो प्रदर्शनको कमजोरीको फाइदा उठाउँदै ५९ औं मिनेटमा थ्रीस्टारका खेलाडी एञ्जल गुरुङले व्यक्तिगत पहिलो तथा आफ्नो टिमका लागि दोश्रो गोल गरेर टिमलाई २/१ को अग्रता दिलाएका थिए ।

खेलको निर्धारीत समयसम्म सहराले थप गोल गर्न नसकेपछि थ्रीस्टार २/१ नतिजा निकाल्दै क्वार्टरफाईनलमा पुगेको हो । थ्रीस्टारले अर्को खेल शनिबार भुटानको पारो एफसिसंग खेल्ने भएको छ । माघ १० गते बुधबार भाेलि प्रतियोगिताको दोश्रो खेल राइजिङ स्टार एफसि नवलपुर र विभागीय टिम त्रिभुवन आर्मि क्लवबीच हुनेछ ।

आजको खेलमा थ्रीस्टारका लागि तथा प्रतियोगिताका लागि पहिलो गोल गरेका क्पाप्टेन योगश गुरुङ म्यान अफ दि म्याच घोषित भए ।

आयुश घलानलाई वर्षको उत्कृष्ट खेलाडीबाट सम्मान

यसैबीच सहारा क्लवले प्रतियोगिताको उद्घाटन सत्रमा आज आयुश घलानलाई वर्षको उत्कृष्ट खेलाडीबाट सम्मान गरेको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले घलानलाई रुपैयाँ ५० हजार, ताम्रपत्र, अवार्डले सम्मान गरेका हुन् ।

सो अवसरमा प्रमुख अतिथि समेत रहेका मेयर आचार्यले यस वर्षबाट आहा ! रारा पोखरा गोल्ड कपलाई पोखरा महानगरपालिकाले संरक्षकत्व प्रदान गरेको र यो अब कायम भईरहने बताए ।

उनले भने, प्रतियोताको संयोजन गर्ने सहारा क्ल्व एउटा मिडिएटर मात्रै हो । यो हामी सबैको हो । देशमा निरन्तर जस्तासुकै कठिनाईका घडीमा पनि संचालन हुँदैे आएको प्रतिष्ठित प्रतियोगिताले पोखरा तथा देशलाई अन्तराष्ट्रसम्म चिनाएको बताए ।

मुख्य प्रयोजक रहेको आहा रारा चाउचाउकाको उत्पादक हिमश्री फुड्सका निर्देशक प्रकाश केसीले क्लवले एकेडेमी चलाएको र फुटवलको माध्यमबाट देश विदेशमा चर्चा बटुलेको कुरा सबैलाई थाहा भएको भन्दै प्रशंसा गरे । उनले प्रतियोगिता सबैको सहयोग र साथले भव्इव रुपमा सम्मन्न हुनेमा दुई मत नभएको बताए ।

पृथ्वीराजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्र केसीले निरन्तर २३ वर्षदेखि संचालन हुँदै आएको प्रतियोगिता पोखरा र देशका लागि गौरवको विषय भएको बताए । उनले एकेडेमिको लागि कम्पनीको तर्फबाट ३ लाख ३ हजार ३३३ रुपैयाँ सहयोग गरिएको र भविष्यका दिनमा पनि जारि रहने बताए ।

क्लवका वरिष्ठ उपाध्यक्ष पूर्ण गुरुङले सहभागि बसैलाई स्वागत गरेको कार्यक्रम महासचिव रामजी अधिकारी र अध्यक्षता अध्यक्ष केशवराज वरालले गरका थिए ।