
काठमाडौं, १८ फागुन । करण केसीको उत्कृष्ट बलिङमा नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृङ्खलाअन्तर्गत आज भएको खेलमा नामिबियालाई तीन रनले पराजित गरेको छ ।
जितका लागि एक सय ८१ रनको चुनौती पछ्याएको नामिबिया निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७७ रनमा समेटियो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक रहेकामा नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै नामिबियालाई आठ रन मात्रै दिए ।
योसँगै अन्ततः नेपालको जित सुनिश्चित भएको हो । यो जितसँगै दुई अङ्क जोडेको नेपालले फाइनल खेल्ने सम्भावना प्रबल बनाएको छ । नामिबियाको यो हारपछि पनि अङ्तालिकामा भने समान दुई अङ्क नै छ । नेदरल्यान्डसको दुई खेलमा चार अङक रहेको छ ।
नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्यान्ड्ससँग २ विकेटले पराजित भएको थियो । त्यस्तै नामिबिया हिजो भएको खेलमा नेदरल्यान्ड्ससँग ५९ रनले पराजित भएको थियो ।
आजको खेलमा नामिबियाका लागि कप्तान जेजे स्मिथले अर्धशतक प्रहार गरे । उनले २६ बलमा ६ चौका र दुई छक्का प्रहार गर्दै ५० रन जोडेका हुन् । जान फ्रिलिङ्कले ३७ रन जोडे भने जेपी कोट्जेले २५ र माइकल भान लिङ्गेनले १० रन बनाए । रुबेन ट्रम्पलम्यानले १४ रन जोड्दा जेन ग्रिनले अविजित २३ रन बनाए ।
बलिङतर्फ नेपालका करण केसी, सोमपाल कामी र कप्तान रोहित कुमार पौडेलले समान दुई÷दुई विकेट लिए भने अभिनाश बोहोराले एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८० रनको योगफल बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे । उनले ३७ बल खेल्दै एक चौका र चार छक्काको मद्दतमा ५५ रन बनाएका हुन् । कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफले आउट हुनुअघि २४ बलमा चार चौकाको सहायताले ३१ रन जोडे । त्यस्तै गुलशन झाले १६ बल खेल्दै एक चौका र तीन छक्काको ससहायताले २६ रन बनाए भने अनिल शाहले १७ बलमा तीन छक्काको मद्दतमा २३ रन जोडे ।
दीपेन्द्र सिंह ऐरी आठ बलमा दुई चौका प्रहार गर्दै १६ रनमा आउट भए । कप्तान पौडेल ९ बलमा दुई चौका प्रहार गर्दै १० रनमा आउट भए । त्यस्तै सुरुआती ब्याट्सम्यान आसिफ शेख एक रनमा आउट हुँदा करण केसीले ७ र सोमपाल कामी २ रनमा आउट भए ।
बलिङतर्फ नामिबियाका बेन शिकाङ्गोलले तीन विकेट लिए भने ज्याक ब्रेसलले दुई विकेट झारे । त्यसैगरी बर्नार्ड स्कोल्ज र जान निकोल लोफटी इटनले समान एक÷एक विकेट लिए । अब नेपालले भोलि नेदरल्यान्डसँग खल्नेछ ।








पोखरा, ६ मङ्सिर । कन्या क्याम्पसको ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन पोखरामा…
पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन… 




