पाँचौं टाइगर कप भलिबल प्रतियोगिता माघ १२ गतेदेखि १९ गतेसम्म पोखरा रंगशालामा हुने

-



     सफल आवाज    
     माघ ७ गते २०८१ मा प्रकाशित



पोखरा, ७ माघ । पाँचौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्यिनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ ।

टाइगर ग्रुप अफ पोखराको आयोजनामा माघ १२ गतेदेखि १९ गते सम्म पोखरा रंगशालामा आयोजना हुने एनसेल पाँचौं टाइगर कप भलिबलको तयारी तिब्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतफ ६ र महिलातर्फ ६ गरी १२ टिमको सहभागिता रहने छ । महिलातर्फ टाइगर ग्रुप अफ पोखरा, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, टिपटप न्यू डाइमण्ड युथ स्पोर्टस क्लब र थाइल्याण्डको ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब तथा महिलातर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब र भारतको सुनिल भलिबल क्लबको सहभागिता रहने छ ।

यसपटक पुरस्कार राशिमा समेत वृद्धि गरिएको छ । विजेता महिला÷पुरुष दुबै टिमले समान ५ लाख ८५ हजार ५ सय पचपन्न रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमले २ लाख ८५ हजार ५ सय पचपन्न र तेस्रो हुने टिमले १ लाख ८५ हजार ५ सय पचपन्न रुपैयाँ प्राप्त गर्नेछन् ।

महिला÷पुरुष दुवैतर्फका सर्वोकृष्ट खेलाडीलाई २५ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट कोचले समान रु. १० हजार ५ सय पचपन्न रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिता आयोजना गर्न १ करोड २५ लाख खर्च लाग्ने अनुमान छ । मुलुकको आर्थिक अवस्था जटिल भएकाले प्रायोज कतथा आर्थिक सहयोग अपेक्षा अनुसार जुटन नसकेको अध्यक्ष शर्माको भनाइ छ । प्रतियोगिताको बचत रकम सामाजिक कार्यमा खर्च गरिने उनले बताए ।

प्रतियोगितामा विभागीय बाहेक अन्य टिमले ३÷३ जना विदेशी खेलाडी राखेकाले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने प्रचारप्रसार संयोजक रामकृष्ण ज्ञवालीले बताए । प्रतियोगितासफल बनाउन ग्रुपका अध्यक्ष शर्माको अध्यक्षतामा १ सय १ सदस्यीय मुलआयोजक समिति गठन गरिएको छ । प्रतियोगिता एक्सन स्पोर्टसबाट प्रत्यक्ष प्रशारण हुने छ ।