आहा ! रारा पोखरा गोल्डकप प्रतियोगिता माघ २२ देखि फागुन ३ सम्म हुने

-



     सफल आवाज    
     माघ १३ गते २०८१ मा प्रकाशित



पोखरा, १३ माघ । बहुप्रतिष्ठित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता माघ २२ गते देखि आयोजना हुने भएको छ । आयोजक सहारा क्लब पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी दिएको हो ।

फागुन ३ गते सम्म पोखरा रंगशालामा आयोजना हुने २४ औं संस्करणको प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, मछिन्द्र क्लब, ब्रिगेड ब्वाइज क्लब युके, सहारा क्लब पोखरा, थ्रीस्टार क्लब, एनआरटी क्लब, चर्च ब्वाइज यृुनाइटेड क्लब, थन्डर नर्थ युनाइटेड क्लब सिक्किम र संकटा क्लब गरी ११ वटा टिमले नाम दर्ता गराएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतियोगिता विजेता टिमले १२ लाख १ हजार रुपैयाँ र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ । गतबर्षको विजेता त्रिभुवन आर्मी क्लब र उपविजता थ्रीस्टार क्लब हो । प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फूड्स प्रालिको उत्पादन आहा रारा तयारी चाउचाउले प्रयोजन गर्दै आइरहेको छ ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड ४२ लाख २० हजार रुपैयाँ खर्च र १ करोड ५१ लाख रुपैयाँ आम्दानी हुने आयोजकको भनाइ छ । बचत रकम क्लबद्धारा सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालकहरु आश्रित छन् ।

प्रतियोगिताको उत्कृष्ट ५ विधाको पुरस्कार प्रायोजन सूर्यबहादुर केसीको स्मृतिमा केसी परिवारले गरेको छ । सर्वोकृष्ट बर्ष खेलाडी पुरस्कार प्रायोजन क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले गरेका छन् ।