मुख्यमन्त्रीको नाममा गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने

-



     सफल आवाज    
     माघ ६ गते २०७७ मा प्रकाशित



पोखरा, ६ माघ । कास्की जिल्ला भलिबल संघको आयोजनामा पोखरामा फागुन ४ देखि ८ सम्म गण्डकी प्रदेश प्रथम मुख्यमन्त्री कप जिल्लास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा रंगशालास्थित भलिबल खेल मैदानमा हुने प्रतियोगितामा प्रदेशका ११ वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी महिलातर्फ ११ र पुरुषतर्फ ११ टिमको सहभागिता हुनेछ ।

पोखरामा मंगलबार संघद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष भीम पराजुलीले प्रदेशको सम्वन्धित जिल्लाबाट छनोट भएर आउने टोलीलाई प्रतियोगितामा सहभागी गराइने बताए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नवौँ राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको टिमका लागि बन्द प्रशिक्षणमा राखिने छ ।

अन्तिम छनोटमा परेकाहरुलाई ३ महिना बन्द प्रशिक्षणमा राखिनेछ । सोही टिमले पोखरामै हुने आउँदो नवौं राष्ट्रिय खेलकुदका लागि यस प्रदेशबाट खेल्नेछ। महिला तथा पुरुष दुवैतर्फ विजेताले २ लाख, उपविजेताले १ लाख, तेस्रोले ५० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र पुरस्कार पाउने प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिफ्टर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भरले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पुरस्कार पाउनेछन्। नेपाल भलिबल संघका उपाध्यक्ष डीबी नेपाललीले मुख्यमन्त्रीको नामसँग जोडिएको प्रतियोगितालाई गण्डकी प्रदेश सरकारले वार्षिक कार्यक्रममै समेटेकोले प्रदेश सरकारबाट पनि भरपूर सहयोग हुने दाबी गरे।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति निर्देशक कृष्ण तिमिल्सिनाले प्रतियोगिता मुख्यमन्त्री कप गर्नका लागि मात्र नभई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रतिभा छनोट गर्न अवसर जुरेको बताए ।