सन्दीपको दुई विकेटको मद्दतमा होबार्ट विजयी

-



     सफल आवाज    
     माघ १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ माघ । नेपाली खेलाडी सन्दीप लामिछानेले दुई विकेट लिएको खेलमा उहाँ आबद्ध टोली होबार्ट हुरिकेन्स सात रनले विजयी भएको छ । अस्ट्रेलियामा जारी बिग बास लिगमा लामिछानेले सिड्नी सिक्सर्र्सविरुद्धको खेलमा दुई विकेट लिए ।

टस जितेर सिड्नी सिक्सर्सले फिल्डिङ रोजेपछि होबार्टले २० ओभरमा आठ विकेट गुमाएर १८८ रन बनायो । सिड्नीले २० ओभरमा आठ विकेट गुमाएर १८१ रन मात्र बनाउन सक्यो । होबार्टका लागि लामिछानेले चार ओभरमा २४ रन खर्चिए । उनले यसक्रममा तीन चौकासमेत विपक्षी खेलाडीलाई हान्ने मौका दिए ।

लामिछानेले सिड्नीका ब्याट्सम्यान मोइसेस हेनरिकलाई ४३ रनमा तथा डेनियल क्रिस्टियनलाई रन नै बनाउन नदिइकन पेभेलियन फर्काए । यसअघिको खेलमा समेत उनले दुई विकेट लिएका थिए । उनले बिग बासमा हालसम्म सात खेलमा आठ विकेट लिइसकेका छन् ।

लामिछाने आबद्ध टोली होबार्ट हालसम्म २७ अङ्क जोड्दै लिगको पाँचौं स्थानमा रहेको छ । होबार्टले अब मङ्गलबार मेलबर्न रेनेगेड्ससँग खेल्ने छ । उक्त खेलमा विजयी भएमा होबार्ट अर्को चरणमा प्रवेश गर्ने सम्भावना कायमै रहने छ ।