
बेइजिङ, ३० वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्डले ट्रम्प चीन भ्रमणमा निस्कँदै गर्दा बेइजिङसँग व्यापार, प्रविधि र भू–राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने बहुप्रतिक्षित शिखर वार्ताअघि ट्रम्पले अमेरिकी कम्पनीहरूका लागि चीनलाई अझ ‘खुला’ बनाउन आग्रह गर्ने सार्वजनिक घोषणा गर्नुभएको छ ।
वासिङ्टनबाट प्रस्थान गरेपछि ट्रम्पले सामाजिक सञ्जालमार्फत चीनका लागि अमेरिकी व्यवसाय र प्रविधि कम्पनीहरूको पहुँच विस्तार गर्न चाहेको बताउनुभयो । उहाँले सी जिनपिङलाई ‘असाधारण दृष्टिका नेता’ भन्दै चीनलाई अमेरिकी उद्यमका लागि थप खुला बनाउन आग्रह गर्नुभएको हो । “म राष्ट्रपति सीलाई चीनलाई अझ खुला बनाउन आग्रह गर्दछु, ताकि अमेरिकी प्रतिभा र प्रविधिले चीनलाई अझ उच्च स्तरमा पुर्याउन सकोस्”, ट्रम्पले लेख्नुभएको थियो ।
यस भ्रमणलाई ट्रम्प प्रशासनले केवल कूटनीतिक भेटका रूपमा नभई आर्थिक र रणनीतिक सम्बन्ध पुनर्सन्तुलन गर्ने अवसरका रूपमा अघि सारेको देखिएको छ । यही कारण व्यापार र प्रविधि क्षेत्रका चर्चित अमेरिकी व्यवसायीहरू पनि ट्रम्पको टोलीसँग बेइजिङ पुगेका छन् । एनभिडियाका प्रमुख जेन्सेन हुआङ अलास्कामा गरिएको प्राविधिक अवतरणका क्रममा एयर फोर्स वनमा सवार हुनुभएको थियो भने टेस्ला प्रमुख एलन मस्क पनि राष्ट्रपति विमानमार्फत चीन भ्रमणमा सहभागी हुनुभएको बताइएको छ ।
यसैगरी एप्पलका प्रमुख टिम कुकसहित अन्य ठूला अमेरिकी कम्पनीका कार्यकारी प्रमुखहरू पनि बेइजिङ भ्रमणमा सहभागी हुनेछन् । करिब एक दशकपछि अमेरिकी राष्ट्रपति चीन भ्रमणमा पुगेकाले यसलाई विश्वका दुई ठूला अर्थतन्त्रबीचको सम्बन्ध पुनःपरिभाषित गर्ने प्रयासका रूपमा हेरिएको छ ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




