
काठमाडौं, ३१ भदौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको थप तरलता (लगानीयोग्य रकम) प्रशोधन गर्नका लागि ६० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण निष्काशन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ३० दिने निक्षेप संकलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।
राष्ट्र बैंकका अनुसार इच्छुक इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भदौ ३१ गते (आज) दिउँसो ३:०० बजेसम्म राष्ट्र बैंकको ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ (OBSS) मार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्।
निक्षेप संकलनका प्रमुख विशेषताहरू:
- आह्वान रकम: रु. ६० अर्ब (साठी अर्ब रुपैयाँ)
- अवधि: ३० दिन (साँवा तथा ब्याज भुक्तानी मिति: २०८३ असोज ३० गते)
- निष्काशन मिति: २०८३ भदौ ३१ गते
- ब्याजदर: बोलकबोलको माध्यमबाट निर्धारण हुने (बहुब्याजदरमा पनि आवेदन दिन सकिने)
- बोलकबोल रकम सीमा: घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म।
सर्त तथा व्यवस्थाहरू:
१. राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र यस बोलकबोलमा सहभागी हुन पाउनेछन्।
२. निक्षेप संकलनको लागि न्यूनतम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमशः रकम बाँडफाँड गरिनेछ। समान ब्याजदर परेको खण्डमा ‘प्रो-राटा बेसिस’ (Pro-rata Basis) मा रकम बाँडफाँड गरिनेछ।
३. बोलपत्र स्वीकृत भएका काउण्टरपार्टीको खातामा निष्काशनका दिन पर्याप्त रकम नभएमा त्यस्ता संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन रोक लगाइनेछ।
४. संकलित निक्षेप रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन, तर यसलाई वैधानिक तरलता अनुपात (SLR) तथा तरलता अनुपात (Liquidity Ratio) मा गणना गर्न पाइनेछ।
५. यो निक्षेप संकलन उपकरणलाई नेपाल राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा समेत प्रयोग गर्न सकिनेछ।
६. यो रकम तोकिएको अवधि (असोज ३० गते) अगावै फिर्ता (Pre-mature Payment) नहुने राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ प्रणालीमा कायम रहेको बढी तरलतालाई व्यवस्थापन गर्दै अल्पकालीन ब्याजदरलाई नियन्त्रणमा राख्न राष्ट्र बैंकले निरन्तर रूपमा निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम उठाउँदै आएको छ।








पोखरा, ६ मंसिर । पोखरा ३, नदिपुर भिसि मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा दुईदिने…
काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन… 




