
सोफिया, २७ असोज । बुल्गेरियाको तट नजिकै दुई व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको छ । आक्रमणका क्रममा कम्तीमा एउटा जहाज डुबेको बुल्गेरियाको सरकारी सूचना सेवाले मंगलबार जनाएको छ । बुल्गेरियाका प्रधानमन्त्री रुमेन रादेवका अनुसार एउटा जहाजमा स्थानीय समयअनुसार मंगलबार बिहान करिब १ः३० बजे बायला सहरबाट १८ समुद्री माइल पूर्वमा आक्रमण भएको थियो ।
‘चेल्सी ३’ नामक उक्त जहाज माल्टाको झन्डामा सञ्चालन भइरहेको थियो। युक्रेनको ओडेसामा दर्ता भएको उक्त जहाज युक्रेनी स्वामित्वमा रहेको प्रधानमन्त्री रादेवले जानकारी दिनुभयो । जहाजका चालक दलका सदस्यहरूका अनुसार तीनवटा हवाई ड्रोनले जहाजमाथि आक्रमण गरेका थिए । जहाजमा सवार युक्रेनका सात र अजरबैजानका आठ गरी १५ जना चालक दलका सदस्यलाई बुल्गेरियाली अधिकारीहरूले सकुशल उद्धार गरेका छन् ।
उद्धार गरिएका सबैलाई भर्ना बन्दरगाहमा पु¥याइएको थियो । उनीहरूमध्ये पाँच जनाले स्वास्थ्य उपचारसमेत प्राप्त गरेका छन् । यसैगरी, क्रापेत्स सहरबाट करिब १७ समुद्री माइल पूर्वमा अर्को व्यापारिक जहाजमाथि पनि आक्रमण भएको जानकारी अधिकारीहरूले प्राप्त गरेका थिए । उक्त जहाज डुबेको र त्यसमा सवार चालक दलका एक सदस्यलाई उद्धार गरिएको सरकारी सूचना सेवाले जनाएको छ ।
बुल्गेरियाको तट नजिकै एक साताभित्र व्यापारिक जहाजमाथि ड्रोन आक्रमण भएको यो दोस्रो घटना हो । यसअघि अक्टोबर ६ मा बायलाबाट करिब ७० समुद्री माइल पूर्वमा, बुल्गेरियाको विशेष आर्थिक क्षेत्रमा, अज्ञात ड्रोनको आक्रमणबाट एउटा व्यापारिक जहाज डुबेको थियो भने अर्को जहाजमा आगलागी भएको थियो ।
प्रधानमन्त्री रादेवले बुल्गेरियाको प्रादेशिक जलक्षेत्रको नजिकै व्यापारिक जहाजमाथि बारम्बार आक्रमण हुनु पूर्ण रूपमा अस्वीकार्य रहेको बताउनुभयो । उहाँका अनुसार घटनाबारे उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) र युरोपेली संघ (ईयू) का लागि बुल्गेरियाका स्थायी प्रतिनिधिहरूलाई जानकारी गराइएको छ । साथै, उहाँले नाटोका महासचिव मार्क रुटेसँग पनि यस विषयमा छलफल गर्ने बताउनुभएको छ ।








काठमाडौं, ६ मंसिर । गरिमा विकास बैंक लिमिटेडले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा ‘स्वस्थ जीवनशैलीका लागि…
पोखरा, ६ मंसिर । आन्तरिक राजश्व कार्यालय पोखराका मुख्य कर अधिकृत शिवप्रसाद ढुंगानाले कर प्रशासन…
पोखरा, ६ मङ्सिर । कन्या क्याम्पस पाेखराकाे ३२ औँ साधारण सभा तथा १० औँ अधिवेशन…
काठमाडौं, ६ मंसिर। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधिको मुनाफाबाट बैंक तथा वित्तीय… 




