आँखुखोला जलविद्युत्मा २० करोड लगानीको निर्णयमाथि प्रश्न, सञ्चालक सापकोटाले उठाए आर्थिक सुशासनको मुद्दा

-



     सफल आवाज    
     मंसिर १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ मंसिर । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको लगानी निर्णय, आर्थिक दायित्व र संस्थागत सुशासनलाई लिएर विवाद उत्पन्न भएको छ। कम्पनीका शेयरधनी तथा निर्वाचित सञ्चालक रामप्रसाद सापकोटाले सञ्चालक समितिका विभिन्न निर्णयप्रति असहमति जनाउँदै कम्पनीको वित्तीय अनुशासन र शेयरधनीको लगानी सुरक्षामाथि प्रश्न उठाएका छन्।

सापकोटाले सार्वजनिक गरेको प्रेस वक्तव्यमा पर्याप्त अध्ययन र छलफलविना ४४ मेगावाटको माथिल्लो आँखुखोला जलविद्युत् आयोजनामा थप २० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरिएको भन्दै आपत्ति जनाएका छन्। सञ्चालक समितिको निर्णयमा आफ्नो सहमति नरहेको उल्लेख गर्दै उनले उक्त लगानी निर्णय पुनरावलोकन गर्न माग गरेका छन्।

उनका अनुसार कम्पनीले आँखुखोला–२ जलविद्युत् आयोजनामा गरेको शेयर सब्सक्रिप्सन सम्झौताअनुसार गणेश हिमाल लिमिटेडलाई करिब ५० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ। त्यस्तै, आयोजनाबाट प्रभावित स्थानीय बासिन्दालाई करिब १० देखि १२ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने र आयोजना निर्माणका क्रममा करिब ४ देखि ५ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने दायित्वसमेत बाँकी रहेको उनले उल्लेख गरेका छन्।

यस्तो अवस्थामा थप ऋणभार सिर्जना हुने गरी नयाँ आयोजनामा २० करोड रुपैयाँ लगानी गर्ने निर्णयले कम्पनीको वित्तीय अवस्था र शेयरधनीको हितमा गम्भीर असर पार्न सक्ने उनको भनाइ छ। कुनै पनि नयाँ आयोजनामा लगानी गर्नुअघि प्राविधिक, वित्तीय तथा कानुनी पक्षको विस्तृत अध्ययन (टेक्निकल, फाइनान्सियल एन्ड लिगल ड्यु डिलिजेन्स) गर्नुपर्ने उनले बताएका छन्।

त्यसैगरी, कम्पनीको सञ्चालक पदबाट आफूलाई हटाइएको विषयमा पनि सापकोटाले कानुनी प्रश्न उठाएका छन्। कम्पनीको २०८३ असार ३० गतेको सञ्चालक समितिको बैठकबाट आफूलाई पदमुक्त गरिएको निर्णय विधि र प्रक्रियासम्मत नभएको उनको दाबी छ। कम्पनी ऐन, २०६३ तथा कम्पनीको प्रबन्धपत्र र नियमावलीअनुसार सञ्चालक नियुक्ति, निर्वाचन तथा पदबाट हटाउने प्रक्रिया कानुनसम्मत हुनुपर्ने उनको भनाइ छ।

सापकोटाले कम्पनीका प्रत्येक निर्णयमा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्न, शेयरधनीको लगानी तथा सम्पत्तिको संरक्षणलाई प्राथमिकता दिन र जोखिमयुक्त आयोजनामा गरिएको करिब पाँच करोड रुपैयाँको लगानी फिर्ता गर्न माग गरेका छन्।

त्यस्तै, कम्पनीले निर्णय गरेको दुई अर्ब रुपैयाँको हकप्रद शेयर निष्काशन प्रक्रिया फिर्ता लिन तथा आम नागरिकलाई झुक्याएर शेयरको मूल्य बढाउने गतिविधि रोक्नुपर्ने उनको माग छ। बैठकमा आफूलाई जानकारी नदिई गरिएका निर्णयहरू खारेज गर्नुपर्ने पनि उनले बताएका छन्।

यो विषय व्यक्तिगत पद वा स्वार्थको लडाइँ नभई कम्पनीको सुशासन, पारदर्शिता, आर्थिक अनुशासन र हजारौँ शेयरधनीको लगानी सुरक्षासँग जोडिएको विषय भएको सापकोटाको भनाइ छ।

उनले कम्पनीमा सुशासन कायम गरी शेयरधनीको लगानी सुरक्षित बनाउन, कम्पनीलाई पारदर्शी र जवाफदेही बनाउन तथा गैरकानुनी गतिविधिमाथि कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। साथै, स्थानीय सरकारलाई समेत यस विषयमा आवश्यक अध्ययन गर्न आग्रह गरेका छन्।

कम्पनीको लगानी निर्णय, आर्थिक दायित्व र सञ्चालक पदबाट हटाइएको विषयमा सापकोटाले उठाएका प्रश्नबारे कम्पनी व्यवस्थापनको आधिकारिक धारणा भने यस वक्तव्यमा समेटिएको छैन।