१५ करोड थान ५ रुपैयाँका सिक्का छाप्न राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

-



     सफल आवाज    
     मंसिर १३ गते २०८३ मा प्रकाशित



काठमाडौं, १३ मङ्सिर । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरका १५ करोड थान नयाँ सिक्का उत्पादन तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक प्रक्रिया अघि बढाएको छ । बैंकको मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना जारी गर्दै सिक्काको डिजाइन, टकमरी र आपूर्तिका लागि योग्य कम्पनीबाट प्रस्ताव माग गरेको हो ।

राष्ट्र बैंकका अनुसार यस प्रक्रियामा यसअघि नै पूर्वयोग्यताको सूचीमा परेका अन्तर्राष्ट्रिय सुरक्षा मुद्रण तथा सिक्का उत्पादन कम्पनीहरू मात्र सहभागी हुन पाउनेछन् । इच्छुक पूर्वयोग्य कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी गरी एउटै बाहिरी खाममा पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

इच्छुक कम्पनीले आगामी डिसेम्बर २८ सम्म राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग वा बबरमहलस्थित टक्सार महाशाखाबाट बोलपत्रसम्बन्धी कागजात प्राप्त गर्न सक्नेछन् । आवश्यक कागजात र बैंक भौचर पेस गरी इमेलमार्फत पनि कागजात लिन सकिने सूचनामा जनाइएको छ । कागजात शुल्क नेपाली रुपैयाँ २० हजार, अमेरिकी डलर १३२ वा युरो ११८ तोकिएको छ, जुन फिर्ता हुने छैन ।

राष्ट्र बैंकले डिसेम्बर ११ मा दिउँसो १२ बजे थापाथलीस्थित मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठक राखेको छ । प्रस्ताव पेस गर्ने अन्तिम म्याद डिसेम्बर २९ दिउँसो १२ बजेसम्म तोकिएको छ भने सोही दिन दिउँसो १ बजे प्रस्ताव खोलिनेछ । तोकिएको समयपछि प्राप्त प्रस्ताव स्वीकार नगरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

प्रस्ताव पेस गर्ने कम्पनीले कम्तीमा १ लाख २७ हजार अमेरिकी डलर वा सो बराबरको नेपाली रुपैयाँमा बैंक जमानत पेस गर्नुपर्नेछ । नेपाली रुपैयाँमा जमानत पेस गर्दा सूचना जारी भएको दिनको राष्ट्र बैंकको बिक्री विनिमय दरअनुसार रकम निर्धारण हुनेछ । प्रस्तावको मान्य अवधि १२० दिन रहनेछ भने बैंक जमानत त्यसपछि थप ३० दिनसम्म कायम हुनुपर्नेछ । सूचनाअनुसार जमानतको अन्तिम म्याद २८ मे २०२७ सम्म रहनेछ ।

सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम कालोसूचीमा परेका कम्पनी तथा त्यस्ता कम्पनीका सञ्चालक वा लगानीकर्ताले स्थापना गरेका नयाँ कम्पनीहरू यस बोलपत्र प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।

मुख्य विवरण तालिका

विवरणव्यवस्था / समयसीमा
सिक्काको दर तथा परिमाण५ रुपैयाँ दरका १५ करोड थान
कार्यक्षेत्रडिजाइन, टकमरी र आपूर्ति
बोलपत्र कागजात लिने अन्तिम मितिआगामी डिसेम्बर २८
कागजात शुल्कने.रु. २० हजार / अमेरिकी डलर १३२ / युरो ११८ (फिर्ता नहुने)
पूर्वबोलपत्र बैठकडिसेम्बर ११, दिउँसो १२ बजे (मुद्रा व्यवस्थापन विभाग, थापाथली)
प्रस्ताव पेस गर्ने अन्तिम समयडिसेम्बर २९, दिउँसो १२ बजेसम्म
प्रस्ताव खोलिने समयडिसेम्बर २९, दिउँसो १ बजे
बैंक जमानत रकमकम्तीमा अमेरिकी डलर १ लाख २७ हजार वा सो बराबरको ने.रु.
बैंक जमानतको अन्तिम म्याद२८ मे २०२७ सम्म