नेपालले दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्ने

-



     सफल आवाज    
     चैत्र १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ चैत । काठमाडाैंमा जारी तीनदिवसीय फुटवल प्रितयाेिगतामा नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेशसँग खेल्ने भएकाे छ ।

खेल बराबरी खेलेमा वा विजयी भएमा नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित भएमा गोल अन्तरका आधारमा नेपाल र किर्गिस्तानको फाइनल पुग्ने कुराको टुङ्गो लाग्ने छ ।

यसअघि उद्घाटन खेलमा बंगलादेशले किर्गिस्ताको यु–२३ टोलीलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ । बंगलादेशले तीन अङ्क जोडेको छ । हिजाेकाे खेल गोलरहित बराबरी खेलेपछि नेपाल र किर्गिस्तानले एक एक अङ्क प्राप्त गरेका छन् ।

हिजाे घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली निर्धारित समयमा गोल गर्नबाट वञ्चित रहे । किर्गिस्तान विरुद्धको खेलमा नेपाल उत्कृष्ट लयमा हुँदाहुँदै पनि गोल गर्नबाट चुक्न पुग्यो ।

मध्यान्तर अघि र पछिको खेलमा नेपाली खेलाडी किर्गिस्तानका खेलाडीमाथि हाबी भएका थिए । नेपाली खेलाडीले पटक पटक गोल गर्ने प्रयास भए पनि किर्गिस्तानी गोलकिपर प्रिएदकिन अर्तेमले सबै विफल पारी दिए । खेलको ६७औँ मिनेटमा किर्गिस्तानका कप्तान तासिएभ कामोलिदिनले दोहाेरो पहेँलो कार्डसँगै मैदानबाट बाहिरिए । त्यसपछि २९औँ मिनेटसम्म किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहन पुगे । नेपाली टोलीले त्यसको पनि फाइदा उठाउन सकेन ।

रंगशालामा उपस्थित करिब ८ हजार दर्शकले किर्गिस्तानी टोली १० खेलाडीमा सीमित रहँदा नेपाली टोलीबाट गोलको आश गरेका थिए । किर्गिस्तानी गोलकिपर अर्तेमले नेपाली दर्शकको आशा निराशामा परिणत गरिदिए । नेपाली टोली खेलको शुरुआतदेखि नै गोल गर्ने राम्रो राम्रो मौका पाएको थियो । खेलको चौँथो मिनेटमा अञ्जन विष्टले डिबक्स भित्रबाट गरेकाे प्रयास बिफल भयो । यस्तै खेलको आठौँ मिनेटमा गरेको प्रयास पनि सफल हुन सकेन ।

यसैगरी मध्यान्तर अघि खेलको १० औँ, १४ औँ, २२ औँ, २९ औँ, ३४ औँ र ४३ औँ मिनेटमा पनि नेपाली टोलीबाट गोलको प्रयास भएका थिए । गोलमा परिणत हुन नसक्दा दर्शकहरू मध्यान्तरपछिको खेलमा गोलको आश गर्दै दर्शकदीर्घामा बसिरहे । मध्यान्तरपछिको खेलमा पनि नेपाली टोलीको प्रदर्शन त्यसअघिकै खेलको जस्तो रह्यो । खेलको ५०औँ मिनेटमा अनन्त तामाङले हेडमार्फत गोलको प्रयास गरे । उक्त प्रयासलाई किर्गिस्तानी गोलकिपर अर्तेमले असफल पारिदिए । यस्तै खेलको ५६ औँ मिनेटमा अञ्जन विष्टले उत्कृष्ट प्रयास गरे । किर्गिस्तानका गोलकिपर अर्तेमले नेपाली दर्शकलाई निराश पारे । विष्ट खेलको ६३ औँ मिनेटमा पनि गोल गर्नबाट चुके ।

खेलको ७१ औँ मिनेटमा नेपाल आत्मघाती गोलबाट जोगिएको थियो । गोलकिपर किरण चेम्जोङले आत्मघाती गोलबाट मुश्किलले जोगाए । नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीको प्रदर्शनबाट सन्तुष्ट रहेको बताए । लामो समयको अन्तरालपछि प्रतियोगिता खेल्न पाएको भन्दै उनले खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।

नेपाली टोलीको ध्यान अब बंगलादेशसितको खेलमा हुने भन्दै महर्जनले जसरी पनि फाइनलमा पुग्ने लक्ष्यका साथ शनिबारको खेल खेल्ने बताए । किर्गिस्तानसितको खेलमा धेरै मौका पाए पनि नेपाली टोलीको फरवार्ड चुक्दा गोलरहित बराबरीमा चित्त बुझाउनुपरेको उनको भनाइ थियो ।