आहा रारामा आयोजक र एपीएफबीच उद्घाटन खेल

-



     सफल आवाज    
     चैत्र १९ गते २०७७ मा प्रकाशित



पोखरा, १९ चैत । १९ औं संस्करणको आहारारा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफ क्लबबीच हुने भएको छ ।

सहारा क्लब पोखराले आगामी चैत २१ देखि २८ सम्म पोखरा रंगशालामा सो प्रतियोगिता गर्दैछ ।

बिहीबार पोखरामा पत्रकार सम्मेलन गरी क्लब अध्यक्ष केशवबहादुर थापाले उद्घाटन खेल आयोजक र एपीएफबीच हुने जानकारी दिए । कुल ८ टिमको सहभागिता रहने प्रतियोगिताको दोस्रोदिन मन्छिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, क्यामरुन, तेस्रो दिन संकटा र मनाङ मस्र्याङ्दी, चौथो दिन थ्रीस्टार क्लब र नेपाल पुलिस क्लबीच प्रतिष्पर्धा हुनेछ । फाइनल चैत २८ मा हुनेछ ।

विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताबाट १ करोड २९ लाख आम्दानी र खर्च १ करोड १ लाख हुने आयोजकको अनुमान छ ।

प्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालि हो । प्रालिका संचालक सूर्यबहादुर केसीको निधनपछि आयोजकले उनकै नाममा ५ विधामा अबदेखि निरन्तर पुरस्कार दिने जनाएको छ । जसअनुसार सूर्यबहादुर केसी मेमोरियल वेस्ट गोलकिपर, वेष्ट डिफेन्डर, वेस्ट मिड फिल्डर, वेस्ट स्ट्राइकर, वेस्ट कोच छन् । सबैको जनही २५ हजार रुपैयाँ पुरस्कार व्यवस्था गरिएको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय फुटल खेलाडी सम्मान–२०७७ वापत १ जना खेलाडीलाई ३५ हजार सहित सम्मान गरिनेछ । कोभिड–१९ विरुद्ध स्वास्थ्य मापदण्ड अपनाउने आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा राखेप सदस्य राजेशकुमार गुरुङ, क्लब महासचिव रामजीप्रसाद अधिकारी, हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, उपाध्यक्ष हरेराम गुरुङ लगायत बोलेका थिए ।
आहारारामा डिफेन्डिङ च्याम्पियन मनाङ हो ।