टोकियो ओलम्पिकमा एलेक्स आज पौडीमा भिड्दै

-



     सफल आवाज    
     श्रावण १२ गते २०७८ मा प्रकाशित



काठमाडौं, १२ साउन । टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीतर्फ हिट नम्बरमा वानमा रहेका नेपाली खेलाडी एलेकजान्डर (एलेक्स) शाहले मंगलबार प्रतिस्पर्धा गर्दैछन् ।

टोकियो एक्वाटिक्स सेन्टरमा हुने स्पर्धामा एलेक्स पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । हिटमा भुटान, माल्दिभ्स, कोसोभो, फिलिपिन्स, गुएना र सोलोमन आइल्याण्डका खेलाडी रहेका छन् । एलेक्स लेन नम्बर ६ मा छन् । एलेक्सको स्पर्धा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे छ ।

१०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमानधारी एलेक्सको टोकियो ओलम्पिकमा व्यक्तिगत टाइमिङ सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा पनि सुधार गर्ने लक्ष्य राखेका छन् । एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक शुरु हुनुअघि तोकुसिमोमा २ साताको विशेष प्रशिक्षण गरेका थिए ।

ओलम्पिकमा दुवै खेलाडीले राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने विश्वास रहेको प्रशिक्षक शंकर कार्कीले बताए । गौरिकाले बुधबार महिला १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

पुरुष १०० मिटर फ्रिस्टाइलमा कुल ७२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् र उत्कृष्ट १६ पौडीबाट सेमिफाइनलमा पुग्नेछन् ।