गौरिका सिंहकाे आज ओलम्पिकमा प्रतिस्पर्धा

-



     सफल आवाज    
     श्रावण १३ गते २०७८ मा प्रकाशित



काठमाडौं , १३ साउन । गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा बुधबार १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्ने छन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् ।

यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । त्यसमध्ये शीर्ष १६ खेलाडी मात्र सेमिफाइनलमा पुग्नेछन् । गौरिकासंगै ओलम्पिक उद्घाटनमा नेपालको झण्डा बोकेका अर्का पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान सुधार गरिसकेका छन् ।

गौरिकाको लक्ष्य पनि १०० मिटर फ्रिस्टाइलमा कीर्तिमान सुधार गर्नु नै रहेको छ । एलेक्ससँगै गौरिका सिंहले ओलम्पिक सुरु हुनुअघि तोकुसिमोमा २ साताको विशेष प्रशिक्षण गरेका थिए ।

गौरिकाको ओलम्पिक इन्ट्री टाइमिङ १ मिनेट ००.६२ रहेको छ । गौरिकाले सन् २०१९ मा चीनमा भएको फिना वर्ल्ड च्याम्पियनसिपमा यो समय निकालेकी थिइन् । आठौं राष्ट्रिय खेलकुदमा उनले २५ मिटरको पुलमा ५९.६० सेकेण्डको टाइमिङ निकालेकी थिइन् । १३औं सागमा ५८.१३ सेकेण्डको कीर्तिमान बनाएकी थिइन् ।

गौरिकाले लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । यसअघि सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा उनी सबैभन्दा कान्छी खेलाडी बनेर चर्चित थिइन् ।