नेपाल र बङ्गलादेशको महिला टोली आज साँझ ५ बजे मैत्रीपूर्ण फुटबलमा भिड्दै

-



     सफल आवाज    
     भाद्र २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ भदौ । नेपाल र बङ्गलादेशको राष्ट्रिय महिला टोली मैत्रीपूर्ण फुटबलमा भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा उक्त खेल आज साँझ ५ बजे हुने तय भएको छ । दुवै टोलीले अर्को खेल आगामी आाइतबार खेल्नेछन् । नेपाली महिला फुटबल टोलीले यसअघि कतार, कुवेत र मलेसियासित मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाली टोलीले उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटका तयारीमा रहेका बेला बङ्गलादेशसित मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो ।

एशियन कप छनोटअन्तर्गत नेपाल समूह ‘एफ’ मा छ । उक्त समूहमा हङकङ र फिलिपिन्स रहेका छन् । नेपालले फिलिपिन्ससित आगामी असोज २ गते तथा हङकङसँग असोज ५ गते खेल्ने तय भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । उक्त समूहको शीर्ष टोली अर्को वर्ष भारतमा आयोजना हुने एशियन कप खेल्ने छ ।

नेपाली टोली मुख्य खेलाडी सावित्रा भण्डारी ‘साम्बा’बिना मैदानमा उत्रिदैछन् । गत वर्ष महिला राष्ट्रिय लिग खेल्ने क्रममा घुँडामा चोट लागेपछि उहाँ हाल कतारमा उपचाररत छन् । उनले चोटका कारण बङ्गलादेशसितको दुवै मैत्रीपूर्ण खेल खेल्नुहुने छैन । नेपाली महिला टोलीलाई हाल ग्यारी फिलिप्सले प्रशिक्षण दिँदै आएका छन् । उनले नेपाली टोली एशियन कपमा छनोट हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा बताएका थिए ।

नेपाली टोलीमा युवा खेलाडीको बर्चस्व रहेका कारण बङ्गलादेशसितका खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने उनको भनाइ छ । महिला फुटबलमा नेपाल अहिलेसम्म बङ्गलादेशसँग अपराजित रहेको छ । दुवै टोलीले हालसम्म छ खेल खेलेका छन् । नेपालले सन् २०१० को जनवरीमा बङ्गलादेशका ढाकामा भएको दक्षिण एशियाली खेलकुदमा बङ्गलादेशलाई १–० गोलले पराजित गरेको थियो । सो खेलमा नेपालको तर्फबाट जमुना गुरुङले गोल गरेक थिइन ।

यस्तै सन् २०१० को डिसेम्बरमा बङ्गलादेशमै भएको अर्को खेलमा महिला साफ च्याम्पियनसिपमा नेपाल बङ्गलादेशसँग ३–० गोलअन्तरले विजयी भएको थियो । उक्त खेलमा नेपालका तर्फबाट जमुना गुरुङले दुई, अनु लामाले एक गोल गरेकि थिइन । यसैगरी सन् २०१४ को नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा सम्पन्न तेस्रो महिला साफ च्याम्पियनसिपमा नेपालले बङ्गलादेशलाई १–० गोलले हराएको थियो ।

नेपालका लागि निर्णायक गोल सजना रानाले गरेकि थिइन । सन् २०१६ फेब्रुअरीमा भारतको सिलोङमा भएको दक्षिण एशियाली खेलकुदमा नेपालले बङ्गलादेशलाई ३–० गोलअन्तरले पराजित गरेको थियो । उक्त खेलमा निरु थापा, दीपा अधिकारी र अनु लामाले गोल गरेकि थिइन । यस्तै सन् २०१८ नोभेम्बरमा म्यानमामा भएको भएको एशियाको महिला ओलम्पिक छनोटको समूह ‘सी’ को खेलमा नेपाल र बङ्गलादेशले एक–एक गोलको बराबरी खेलेका थिए । नेपालका लागि निरु थापाले गोल गरेकि थिइन ।

यस्तै सन् २०१९ मार्चमा नेपालको विराटनगरमा सम्पन्न महिला साफ च्याम्पियनसिपमा नेपालले बङ्गलादेशलाई ३–० गोलअन्तरले हराएको थियो । उक्त खेलमा सावित्रा भण्डारी र अन्जलीकुमारी योञ्जनले एक–एक गोल गरेका थिए । नेपालका लागि बङ्गलादेशले एउटा आत्मघाती गोल गर्न पुगेको थियो ।