प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको खेलतालिका सार्वजनिक

-



     सफल आवाज    
     मंसिर २२ गते २०७८ मा प्रकाशित



काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलको तालिका सार्वजनिक भएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले सार्वजनिक गरेको खेल तालिकाअनुसार यही मंसिर २५ गते सुरु हुने प्रतियोगिता २९ गते सम्पन्न हुनेछ । प्रतियोगितामा सहभागी हुने सुदूरपश्चिम प्रदेशका ६ जिल्लालाई दुई समूहमा विभाजन गरिएको प्रादेशिक क्रिकेट संघका सचिव तेजप्रकाश भट्टले जानकारी दिए ।

समूह ‘ए’ मा बैतडी, कञ्चनपुर र डोटी तथा समूह ‘बी’ मा कैलाली, डडेल्धुरा र बझाङ छन् । कैलालीको फाप्ला खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल कैलाली र डडेल्धुराबीच हुनेछ । अर्को खेलमा बैतडी र डोटीले प्रतिस्प्रर्धा गर्नेछन् । यस्तै मंसिर २६ गते डडेल्धुरा र बझाङ तथा कञ्चनपुर र डोटीबीच खेल हुनेछ । मंसिर २७ गते कैलाली र बझाङ तथा कञ्चनपुर र बैतडीबीत प्रतिष्पर्धा हुनेछ ।
मंसिर २८ गते सेमिफाइनलका खेल तथा २९ गते फाइनल खेल हुने संघले जनाएको छ ।

उक्त प्रतियोगिताबाट छनोट भएका खेलाडीले प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए । नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप आगामी पुस ३ गतेदेखि कैलालीको धनगढीमा हुँदैछ ।