छोम्रोङ बास्केटबल : आयोजकको विजयी सुरुवात

-



     सफल आवाज    
     पौष १३ गते २०७८ मा प्रकाशित



पोखरा, १३ पुस । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ छोम्रोङमा जारी २०औं संकरणको ल्होसार सेञ्चुरी मेलामा सोमबारदेखि जारी बास्केटबलमा आयोजकले विजयी सुरुवात गरेको छ ।

तमु समुदायको पर्व ल्होसारको अवसरमा आयोजित सेन्चुरी मेलामा बास्केटबल र भलिबल प्रतियोगिता सुरु भएको क्लबका अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार बास्केटबल तर्फ ५ खेल सम्पन्न भएका छन् । पहिलो खेलबाट आयोजक टिम ‘ए’ले बिजयी सुरुवात गरेको छ । सेञ्चुरी भेट्रान्सलाई आयोजक टिम ‘ए’ ले ५०–२४ ले पराजित गरेको थियो । त्यसैगरी दोस्रो खेलमा याङजाकोटले आयोजक टोली ‘बी’लाई ३४–१३ ले हराउदै अघिल्लो चरणमा प्रवेश गरेका छ ।

तेस्रो खेलमा सेञ्चुरी भेट्रान्सलाई ग्यागोथरले ५६–३१ ले पराजित गरेको थियो । चौथो खेलमा आयोजक टोली ‘बी’लाई ७९–१६ को फराकिलो स्कोरसहित पराजित गर्दै दोस्रो चरणका लागि स्थान बनाएको हो ।

भलिबलतर्फ याङ्जाकोटले आयोजक टोली ‘बी’लाई २५–१९, २५–२१ को सोझो सेटमा पराजित गरेको हो । त्यस्तै दोस्रो खेलमा माछापुच्छ्रे युवा क्लबले आयोजक टिम ‘सी’लाई २९–३१, २५–१२ २५–१२ को सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ भने मेलाको तेस्रो दिन मंगलबार पनि भलिबल तथा बास्केटबलका बाँकी खेल हुने अध्यक्ष गुरुङले जानकारी दिए ।

उनका अनुसार भलिबल प्रतियोगिताका लागि १४ टिम र बास्केटबलतर्फ १० टिम सहभागी छन् । दुवै प्रतियोगिताको विजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् भने दोस्रो र तेस्रो हुने टिमले क्रमशः १५ र ८ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।