सहारा एकेडेमीलाई लुम्बिनी विकास बैंकको २ लाख ४३ हजार सहयोग

-



     सफल आवाज    
     माघ ४ गते २०७८ मा प्रकाशित



पोखरा, ४ माघ । लुम्बिनी विकास बैंकले पोखरा १७ दोविल्लामा सहारा क्लबले सञ्चालन गरेको सुर्यबहादुर केसी स्मृती फुटबल एकेडेमीलाई २ लाख ४३ हजार रुपैया सहयोग गरेको छ ।

बैकका सञ्चालक रामचन्द्र सिग्देल, पोखरा न्यूरोड शाखाका प्रबन्धक बलबहादुर ढकाल, महेन्द्रपुल शाखा प्रवन्धक गोपिराज अधिकारीले सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ, क्लबका निवर्तमान अध्यक्ष केशवबहादुर थापा र पूर्व अध्यक्ष विक्रम थकालीलाई चेक हस्तान्तरण गरेका थिए ।

बैंकका सञ्चालक सिग्देलले सहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरुलाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । उनले सहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा खुशी व्यक्त गरे ।

लुम्बिनी विकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष गुरुङले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । आहा रारा गोल्डकपलाई लामो समय देखी बैंकले बैंकिङ पार्टनरका रुपमा सहयोग गर्दै आएको समेत अध्यक्ष गुरुङले बताए ।

एकेडेमीमा हाल १५ जिल्लाका २४ कठिन एवं विपन्न परिस्थतिका बालकहरु रहेको क्लबका उपाध्यक्ष तथा एकेडेमीका संयोजक चित्रबहादुर पुनले जानकारी दिए । सहारा क्लब पोखराले उनीहरुको लालनपालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।

बैंकले २०७८ पौष मसान्तसम्म ४२ अर्ब ३८ करोड निक्षेप संकलन गरि ३८ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ ।  बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ देशभरका  ३१ वटा जिल्लामा ७९ शाखाहरु र १७ वटा एटिएमबाट करीब ३ लाख ८० हजार ग्राहकलाई सेवा दिदै आएको छ ।