सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



पोखरा, ३० भदौ । सहारा खेलकुद पत्रकारिता पुरस्कार–२०७६ बाट पत्रकार इन्द्रप्रसाद पौडेल सम्मानित भएका छन् ।

सहारा क्लब पोखराको २२ औं वार्षिकोत्सव अवसरमा आयोजित समारोहमा मंगलबार उनलाई गण्डकी प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले २० हजार रुपैयाँ नगद र ताम्रपत्रसहित सम्मान गरेका हुन् ।

क्लब सल्लाहकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले पौडेललाई यसअघि पुरस्कारका लागि छनोट गरेको थियो ।

फुटबलमार्फत् सामाजिक सेवामा क्रियाशील क्लबले खेलकुद गतिविधि प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई योगदान आधारमा वर्षेनी पुरस्कार प्रदान आएको छ ।

कार्यक्रममा मन्त्री गुरुङले सहारा क्लब खेलकुद विकासका लागि उदाहरणीय भएको बताए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सम्पन्न श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष वसन्त थकाली, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, सम्मानित पत्रकार इन्द्र पौडेल, क्लबका अध्यक्ष केशवबहादुर थापा, महासचिव रामजीप्रसाद अधिकारीलगायतले बोलेका थिए ।

सो पुरस्कारबाट यसअघि कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल। प्रदीप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था, सुरज श्रेष्ठ, विजय नेपाल र सन्देश श्रेष्ठ सम्मानित भैसकेका छन् ।