खेलकुदको विकास तथा विस्तारका लागि विनियोजित बजेट अत्यन्त न्यून : मन्त्री गहतराज

-



     सफल आवाज    
     फागुन ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ फागुन । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मन्त्रालयको कार्य जिम्मेवारी, खेलकुदको विकास र विस्तार तथा जनसंख्याका तुलनामा मन्त्रालयका लागि विनियोजित बजेट अत्यन्त न्यून रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले खेलकुदलाई अनुत्पादक क्षेत्र भन्ने राज्यको बुझाई रहेको विषय बजेट विनियोजनबाटै छर्लङ्ग रहेको बताएका हुन् । उनले भने, ‘राष्ट्रिय बजेटको १.१६ प्रतिशत मन्त्रालय र मातहतका निकायका लागि विनियोजन भएको छ, यो बजेट आवश्यकताले नभई दया गरेर विनियोजन भएजस्तो भान हुन्छ, मुलुकको जनसंख्याको ४० प्रतिशत हिस्सा ओगट्ने युवाका लागि सम्पूर्ण कार्यक्रम यसबाट सञ्चालन गर्नुपर्ने बाध्यता छ ।’

विनियोजित बजेटबाट खेलाडीको मनोबल उच्च राख्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउन निकै चुनौती रहेको उल्लेख गर्दै उनले युवालाई सशक्तिकरणका लागि आधार तयार गर्न यो बजेटले धान्छ कि धान्दैन भनी आश्चर्य प्रकट गरे । यता युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले राष्ट्रिय खेलकुद विकास नियमावलीमा सरोकारवालाको रायसुझाव समावेश गरी मस्यौदालाई अन्तिमरुप दिने कार्य गरिरहेको बताए ।

मन्त्रालय र मातहतका निकायबाट भइरहेका कार्य प्रगतिको विवरण प्रस्तुत गर्दै उनले राष्ट्रिय प्रतियोगितामा समावेश हुने ३७ खेल विधाका लागि मुलुकभरबाट २१ हजार खेलाडीका लागि आधारभूत खेलकुद प्रशिक्षण प्रदान भइरहेको जानकारी दिए । उनका अनुसार एसियन तथा ओलम्पिक खेलकुदमा समावेश हुने २६ खेलका ७५० खेलाडीको लागि नियमित प्रशिक्षण चलिरहेको छ ।

यसअघि बैठकमा सदस्यले प्राप्त बजेटकै पुँजीगत खर्च अन्त्यन्त न्यून रहेको चिन्ताको विषय भएको तथा खेल क्षेत्रलाई राष्ट्रको प्राथमिकतामा राखेर गुणात्मक नतिजा हासिल गर्नेतर्फ मन्त्रालयको जोडबल आवश्यक रहेको उनले बताए ।