पोखरा अन्तर्राष्ट्रिय म्याराथन शनिबार, १४ विदेशीसहित २०१ धावकले सहभागिता जनाउँदै

-



     सफल आवाज    
     फागुन ६ गते २०७८ मा प्रकाशित



पोखरा, ६ फागुन . १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता शनिबार आयोजना हुँदै छ ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा हुने खुल्ला म्याराथन अन्तर्गत ४२.१९५ किलोमिटर म्याराथन विजेताले ४ लाख रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै दोस्रो हुनेले २ लाख, तेस्रो हुनेले १ लाख र सान्त्वना हुने धावकले ३० हजार प्राप्त गर्ने छन् ।

त्यस्तै २१.१९५ किलोमिटरको महिला हाफ म्याराथन विजेताले १ लाख, दोस्रोले ७५ हजार, तेस्रो हुनेले ५० हजार र सान्त्वना हुने धावकले १५ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा भारत, केन्या, फ्रान्स, युके, ओमन, आयरल्याण्ड र अमेरिकाका गरी १४ जना विदेशी खेलाडीहरुले सहभागिता जनाउने मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताए ।

त्यस्तै विगागीय तर्फ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित १७ जिल्लाबाट खुल्ला म्याराथनमा १ सय ६२ र महिला हाफ म्याराथनमा ३९ गरी कुल २०१ जना धावकहरुले सहभागिता जनाउँदै छन् ।

पोखरा रंगशालाबाट बिहान ७ बजे सुरु हुने दौड पोखराका विभिन्न भाग परिक्रमा गरी पुनः रंगशालामा नै आएर समापन हुने छ । कोभिड १९ लाई मध्यनजर गर्दै अन्य ६ वटा इभेन्ट भने आगामी चैत १२ गते आयोजना गरिने छ । महिला÷पुरुष १० किमि दौड, विद्यालय स्तरीय छात्र÷छात्रा ५ किमि, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहिन दौड दोस्रो चरणमा हुने भएको आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ९३ लाख खर्च र १ करोड ५ लाख आम्दानी हुने अनुमान गरिएको मञ्चका महासचिव कृष्णप्रसाद तिम्लिसिनाले बताए । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गर्ने छन् ।

प्रतियोगितालाई २०७२ सालदेखि पोखराको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिले मुख्य प्रायोजन गर्दै आइरहेको छ ।