बढ्यो व्यापार घाटा, पेट्रोलमा मात्रै बाहिरियो २ खर्ब

-



     सफल आवाज    
     वैशाख ११ गते २०७९ मा प्रकाशित



काठमाडौं, ११ वैशाख । चालु आर्थिक वर्षको ९ महिनामा नेपालले दुई खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ मात्र आयात गरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासका लागि मात्र यस अवधिमा १ खर्ब ९८ अर्ब ५५ करोड ७६ लाख ९३ हजार रुपैयाँ बाहिरिएको छ ।

यस अवधिमा सबैभन्दा बढी डिजेल, १ खर्ब ५ अर्ब ९७ करोड ५३ लाख ९५ हजार बढीको आयात भएको छ ।

यस्तै पेट्रोल ४७ अर्ब २३ करोड ९७ लाख ८० हजार रुपैयाँ बढीको आयात भएको छ ।

समीक्षा अवधिमा कुल ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रुपैयाँ बराबरको एलपी ग्यासको आयात भएको विभागले जनाएको छ ।

चालु आवको ९ महिनासम्ममा ४५ अर्ब ५८ करोड ११ लाख ११ हजारको सोयाविन तेल आयात भएको छ ।

यस्तै पाम तेल ३२ अर्ब ४ करोड ७८ लाख रुपैयाँ बराबरको आयात भएको छ भने २८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको सुन आयात भएको छ ।

व्यापार घाटा ३१ प्रतिशतले बढी
चालु आवको ९ महिनामा मुलुकको व्यापार घाटा १३ खर्ब नाघेको छ ।

यस अवधिमा नेपालले १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको भन्दा ३१.९७ प्रतिशतले बढी हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा नेपालले कुल ११ खर्ब ११ अर्ब ३९ करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको मात्र माल वस्तु आयात गरेको थियो ।

निर्यात पनि बढ्यो
यस अवधिमा निर्यात समेत बढेको छ ।

यस अवधिमा अधिकतम ६९.४४ प्रतिशतले निर्यात वृद्धि भएको विभागले जनाएको छ ।

विभागका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिनामा मुस्किलले ९४ अर्ब ७६ करोड ७१ लाख १० हजार रुपैयाँ बराबरको मात्र माल वस्तु निर्यात गरेको मुलुकले यो वर्ष १ खर्ब ६० अर्ब ५७ करोड २९ लाख १० हजार रुपैयाँको निर्यात गरेको हो ।

समीक्षा अवधिमा मुलुकले कुल १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख ९१ हजार रुपैयाँ घाटा व्यहोरेको छ । मुलुकले १६३ देशसँग व्यापार गरेको छ ।