फिफा विश्वकप पहिले तोकिएकोभन्दा एक दिन अगाडिबाटै हुने

-



     सफल आवाज    
     श्रावण २७ गते २०७९ मा प्रकाशित



काठमाडौं, २७ साउन । कतारमा आगामी नोभेम्बर-डिसेम्बरमा आयोजना हुन गइरहेको फिफा विश्वकप २०२२ फुटबल प्रतियोगिता पहिले तोकिएको मितिभदा एक दिन अगावै शुरु हुने भएको छ ।

पहिले सार्वजनिक गरिएको तालिका अनुसार आगामी नोभेम्बर २१ देखि विश्वकप शुरु हुनु पर्ने थियो तर अब भने नोभेम्बर २० बाट नै विश्वकप शुरु हुने निश्चित भएको हो । नयाँ तालिका अनुसार आगामी नोभेम्बर २० मा आयोजक कतार र इक्वेडरबिच उद्घाटन खेल हुनेछ ।

यसअघिको तालिका अनुसार कतार र इक्वेडरबीचको यो खेल नोभेम्बर २१ मा तेस्रो खेलको रुपमा राखिएको थियो । उद्घाटन खेल भने नेदरल्याण्ड्स र सेनेगलबिच राखिएको थियो ।

आयोजक देश कतार र विश्व फुटबलको सर्वोच्च निकाय फिफाबीचको छलफलपछि खेल एक दिन अघि सारिएको बुझिएको छ । कतार र इक्वेडरबीचको खेल उद्घाटन खेलका रुपमा सारिएपछि नोभेम्बर २१ मा तीन खेल मात्र हुनेछन् । तीमध्ये समूह ‘ए’ का नेदरल्याण्ड्स र सेनेगल तथा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान तथा वेल्स र अमेरिकाबीच खेल हुनेछ ।