चेल्सी र टोटनहमका प्रशिक्षकले पाए रातो कार्ड

-



     सफल आवाज    
     श्रावण ३० गते २०७९ मा प्रकाशित



काठमाडौं, ३० साउन । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति सम्पन्न चेल्सी र टोटनहमबिचको खेलमा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका छन् । सनसनीपूर्ण उक्त खेलमा टोटनहम हटपरका ह्यारी केनले इन्जुरी समयको छैटौं मिनेटमा गोल गरेपछि दुवै टोलीले प्रिमियर लिगमा २-२ गोलको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएका थिए ।

खेलमा चेल्सीले दुई पटक अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन भने दोस्रो हाफमा खेल तनावपूर्ण बन्दै जाँदै दुवै टिमका प्रशिक्षकलाई रेफ्रीले रातो कार्ड देखाउनु परेको थियो ।

खेलमा घरेलु मैदान स्टानफोर्ड ब्रिजमा कालिडोउ काउलबेलीले १९औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएकोमा ६८औं मिनेटमा पिएरे एमिल होएभरले टोटनहमका लागि बराबरी गोल फर्काए । त्यसपछि रिस जेम्सले ७७औं मिनेटमा चेल्सीको अग्रता दोब्बर पारे । नतिजा २-१ मा आउनै खोज्दा इन्जुरी समयममा इभान पेरिसिकको कर्नरमा ह्यारी केनले हेडमार्फत गोल गर्दै टोटनहमसँग २-२ को बराबरी गरेका हुन् ।

खेलका क्रममा निकै आक्रामक ढंगले प्रस्तुत भएका चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेलाई नियन्त्रणमा ल्याउन रेफ्रीले रातो कार्ड दिनुपरेको थियो ।यो नतिजासँगै दुवै टोलीको अंक समान २-२ खेलमा एक जित र एक बराबरीसहितच समान ४-४ अंक रहेको छ ।