नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेट भदौमै गर्न प्रस्ताव

-



     सफल आवाज    
     भाद्र ५ गते २०७९ मा प्रकाशित


नेपाली क्रिकेट टोली - फाइल तस्बिर


काठमाडौं, ५ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुषतर्फको क्रिकेट त्रिवि मैदानमा भदौ २२ देखि २९ सम्म गर्ने प्रस्ताव गरिएको छ । असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने उक्त प्रतियोगिताको क्रिकेट खेल भने भदौमै गर्न नेपाल क्रिकेट संघ (क्यान) ले प्रस्ताव गरेको हो ।

नेपाल टी२० लिग र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एकै समयमा पर्ने भएकाले क्यानले राष्ट्रिय खेलकुद परिषद् (राखेप) समक्ष यस्तो प्रस्ताव गरेको बुझिएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लका अनुसार आगामी भदौ २२ देखि २९ सम्म प्रस्ताव भएको छ र यसका लागि राखेपले प्रदेशसँग सहमति लिनुपर्छ । त्यसको लागि पत्राचार भइसकेको बताउँदै मल्लले सहमति आउने बित्तिकै टी२० शैलीमा प्रतियोगिता अघि बढ्ने जानकारी दिए ।