साफ च्याम्पियनसिपमा उपविजेता टोलीलाई नगद पुरस्कार

-



     सफल आवाज    
     असाेज ४ गते २०७९ मा प्रकाशित



काठमाडौं, ४ असोज ।  छैटौं महिला साफ च्याम्पियनसिपमा उपविजेता भएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई सरकारले नगद पुरस्कार दिने भएको छ । उपविजेता बनेको टिमको हरेक खेलाडीले जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने बताइएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले हालै बनाएको खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि अनुसार उनीहरुले नगद पुरस्कार पाउने भएका हुन् । कार्यविधिले दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण, रजत र कांस्य विजेताका लागि निश्चित पुरस्कारको व्यवस्था गरेको छ ।

मन्त्रिपरिषदबाट पारित भएको नयाँ कार्यविधि राजपत्रमा प्रकाशित हुन बाँकी छ । मन्त्रिपरिषदबाट पारित भएकाले यो कार्यविधिमा आधारित रहेर नै फुटबल खेलाडीले पुरस्कार पाउने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एक साताभित्र उक्त कार्यविधि राजपत्रमा प्रकाशित हुनेछ ।