बंगलादेशद्वारा जिम्बाब्वे ३ रनले पराजित

-



     सफल आवाज    
     कार्तिक १३ गते २०७९ मा प्रकाशित



काठमाडौं, १३ कात्तिक । अस्ट्रेलियामा जारी टी२० विश्वकपको समूह २ अन्तर्गत सुपर १२ को आजको पहिलो खेलमा बंगलादेशद्वारा जिम्बाब्वे ३ रनले पराजित भएको छ । यो नतिजासँगै बंगलादेश ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा पुगेको छ ।

यसैगरी जिम्बाब्वे ३ खेलमा १ जित १ हार र एक बिना नतिजासहित ३ अंकका साथ चौथो स्थानमा झरेको छ । यो तालिकामा हाल २ खेलमा दुवै खेल जितेर ४ अंकका साथ भारत शीर्षस्थानमा छ भने दक्षिण अफ्रिका २ खेलमा १ जित र एक बिना नतिजासहित ३ अंकका साथ तेस्रो नम्बरमा रहेको छ ।

टस जितेर ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५० रन बनायो । बंगलादेशका लागि नाजमुल होसेन शान्टोले सर्वाधिक ७१ रन बनाए भने अफिफ होसेनले २९, शाकिब अल हसनले २३ तथा लिटन दासले १४ रनको योगदान दिए । बलिङतर्फ जिम्बाब्वेका रिचर्ड ङाराभा तथा ब्लेसिङ मुजरब्बानीले समान २-२ तथा सन विलियम्स र सिकन्दर राजाले समान १-१ विकेट लिए ।

१५० रनको लक्ष्य भेट्न जवाफी ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा १४७ रन मात्र बनाउन सक्यो । जिम्बाब्वेका लागि सन विलियम्सले ६४, र्यान बर्लले अविजित २७, रेगिस चाकाभाले १५ तथा क्रे‍ग इर्भिन र मिल्टन शुम्बाले समान ८-८ रनको योगदान दिए । बलिङतर्फ बंगलादेशका तास्किन अहमदले ३ तथा मोसाद्देक होसेन र मुस्तफिजुर रहमानले समान २-२ विकेट लिए ।